काठमाडौं। नेपालले सीमित स्रोतसाधनका बाबजुद दोस्रो पटक (सन् २०१४ पछि) आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको छ।
अहिले नेपालसँग दुई अन्तर्राष्ट्रिय क्रिकेट मैदान मात्रै छ। त्यसमा पनि चाहिने प्यारापिट, फ्लर्ड लाइट, प्राक्टिस गर्ने नेटलगायतका भौतिक पूर्वाधारहरू निर्माण हुन सकेका छैनन्।
ग्रास्टरुट र घरेलु प्रतियोगितामा पनि नेपालले उल्लेख्य सुधार गर्न सकेको छैन। त्यसैले नेपालले अर्को पटक विश्वकपमा स्थान बनाउला कि नबनाउला? भन्नेमा सबैको चिन्ताको विषय बनेको छ।
तर, नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य सुदीप शर्मा भने आफ्नो टोली विश्वकपमा नियमित खेलिरहन योग्य रहेको बताउँछन्।
‘ट्यान्टका अनुसार हामी नियमित विश्वकप खेलिराख्न योग्य टोली हौं। तर, पूर्वाधारको हिसाबले हामीले धेरै कुरा सुधार गर्न बाँकी छ। ठूलाठूला विदेशी टोली बोलाएर खेल्दा यो पूर्वाधार दिँदैन,’ उनले भने, ‘पूर्वाधार सुधार गर्दै जाने हो भने आउँदा दिनमा हामी यो भन्दा धेरै राम्रो क्रिकेट खेल्न सक्छौं, टेस्ट राष्ट्रसँग कम्पिलिटपनि गर्न सक्छौं, आईसीसीको फुल मेम्बर पनि लिन सकिन्छ जस्तो लाग्छ।’
अपसेट ल्याउन सक्छ
नेपालको समूहमा बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकाजस्ता बलिया प्रतिस्पर्धी रहेका छन्। नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्ने छ। त्यसपछि तीन टेस्ट राष्ट्र श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने छ। कम्तीमा तीन टोलीलाई हराउन सके नेपाल सुपर एटमा पुग्ने छ।
शर्मा ट्वान्टी–२० खेलमा नतिजा अनिश्चित हुने भएको कारण नेपालले सोचेभन्दा राम्रो प्रदर्शन गर्ने बताउँछन्। ‘आयरल्यान्ड र स्कटल्यान्डले टेस्ट राष्ट्रलाई हराएको छ। नेपालले पनि एसिया कप र एसियन गेम्समा टेस्ट राष्ट्रसँग खेल्दा चुनौती दिनेगरी क्रिकेट खेलेको छ,’ उनले भने, ‘नेपाल बलिङ, फिल्डिङ र ब्याटिङमा राम्रो छ। अनुभव पनि बटुलिसकेको छ। त्यसैले एक दुई टेस्ट राष्ट्रबीचमा अपसेट क्रिएट गर्न सक्छ जस्तो लाग्छ।’
ट्वान्टी–२० विश्वकपको सन्दर्भमा शर्मासँग गरिएको छोटो वार्ताको लागि :