रियलमै बस्ने भए भिनिसियस

काठमाडौं। लामो समयदेखि चलिरहेको अड्कलबाजीको अन्त्य गर्दै ब्राजिली स्टार फरवार्ड भिनिसियस जुनियरले रियल मड्रिडसँग नयाँ सम्झौता गरेका छन्।
नयाँ सम्झौताअनुसार उनी ३० जुन २०३२ सम्म स्पेनिस क्लबमै रहनेछन्। रियलले बिहीबार आधिकारिक रूपमा सम्झौताको पुष्टि गरेको हो। सम्झौताअघि भिनिसियसका प्रतिनिधि र क्लबका अधिकारीबीच अन्तिम चरणको छलफल भएको थियो।
क्लबले यसअघि प्रस्ताव गरिएको भन्दा अझ आकर्षक आर्थिक प्याकेज अघि सारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ। यो वार्ता एक वर्षभन्दा बढी समयदेखि रोकिएको थियो, जसका कारण भिनिसियसको भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेको थियो।
उनको अघिल्लो सम्झौता सन् २०२७ को जुनसम्मका लागि थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रियलको अघिल्लो प्रस्ताव वार्षिक करिब २२ मिलियन युरो बराबरको थियो। नयाँ प्रस्तावमा त्यसलाई थप सुधार गरिएको छ।
यसअघि भिनिसियसले वार्षिक करिब ३० मिलियन युरो पारिश्रमिकको माग गरेका थिए भने पुरानो सम्झौताअनुसार उनले अन्तिम वर्षमा करिब १७.५ मिलियन युरो पाउने व्यवस्था थियो।
रियलले जारी गरेको विज्ञप्तिमा क्लब र भिनिसियसबीच सम्झौताको अवधि सन् २०३२ को जुन ३० सम्म बढाउने सहमति भएको उल्लेख गरिएको छ। केही समयअघि भिनिसियसलाई इङ्लिस क्लब आर्सेनलसँग जोडेर चर्चा गरिएको थियो।
उनलाई अनुबन्ध गर्न आर्सेनलले कीर्तिमानी रकम खर्च गर्न तयार रहेको खबर सार्वजनिक भएका थिए। सम्झौता नवीकरण नभएमा रियल पनि उनलाई यसै सिजन बेच्न इच्छुक रहेको बताइएको थियो। तर‚ अन्ततः उनले मै आफ्नो भविष्य सुरक्षित गर्ने निर्णय गरेका छन्।
भिनिसियस सन् २०१८ को जुलाईमा रियलमा आबद्ध भएका थिए। त्यसयता उनले क्लबका लागि ३७५ खेल खेल्दै १२८ गोल गरेका छन्। उनले रियलसँग दुई पटक यूईएफए च्याम्पियन्स लिग, तीन पटक फिफा क्लब विश्वकप, दुई यूईएफए सुपर कप, तीन ला लिगा, एक कोपा डेल रे र तीन स्पेनिस सुपर कपको उपाधि जितिसकेका छन्।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)

