बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

काठमाडौं। स्पेनिस च्याम्पियन बार्सिलोना नयाँ सिजनअघि आक्रमणपंक्ति अझ बलियो बनाउन नयाँ स्ट्राइकरको खोजीमा जुटेको छ।
टोलीमा लामिन यमल, राफिन्हा, डानी ओल्मो, फर्मिन लोपेज र फेरान टोरेसजस्ता खेलाडी तथा नयाँ अनुबन्धित एन्थोनी गोर्डन र करिम आदेयेमी छन्। तर, प्रशिक्षक हान्सी फ्लिक अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको स्थान पूर्ण रूपमा भरिएको मान्दैनन्।
लोनमा आएका मार्कस रासफोर्ड पनि टोलीबाट बाहिरिएपछि बार्सिलोनाले नम्बर ९ अनुबन्ध गर्ने योजनालाई अघि बढाएको हो। बार्सिलोनाको मुख्य लक्ष्य एट्लेटिको मड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन आल्भारेज हुन्।
क्लब अध्यक्ष जोआन लापोर्टाले आल्भारेजका लागि करिब १० करोड युरोको प्रस्ताव गरिएको पुष्टि गरेका छन्। यद्यपि, दुई क्लबबीचको वार्ता अहिले रोकिएको बताइएको छ।
टोरेसको भविष्य अनिश्चित
टोरेसको सम्झौता अब एक वर्ष बाँकी छ। उनी यसै समरमा क्लब छोड्ने, अर्को वर्ष स्वतन्त्र खेलाडीका रूपमा बाहिरिने वा नयाँ सम्झौता गर्ने तीनै सम्भावना खुला रहेको बताइएको छ।
अमेरिकी सञ्चारमाध्यम एनबीसीसँग कुरा गर्दै टोरेसले भने,‘मेरो बार्सिलोनासँग अझै सम्झौता छ। तर‚ फुटबलमा कहिले के हुन्छ भन्न सकिँदैन। म सही निर्णयको प्रतीक्षामा छु। अहिले के हुन्छ भन्ने थाहा छैन।’

टोरेसको भविष्य र नयाँ स्ट्राइकरको खोजीबारे फ्लिकले क्लबका खेल निर्देशक डेकोमाथि पूर्ण विश्वास रहेको बताए।
उनले भने,‘हामीले केही समय पर्खनुपर्छ। डेकोमाथि मेरो पूर्ण विश्वास छ। हामीलाई केही न केही गर्नैपर्छ भन्ने थाहा छ। तर‚ यो फेरानको अवस्थामाथि पनि निर्भर गर्छ। त्यसपछि के हुन्छ, हेर्नेछौं।’
विकल्प धेरै, तर लक्ष्य ‘शुद्ध स्ट्राइकर’
यदि टोरेस क्लबबाट बाहिरिए र नयाँ स्ट्राइकर भित्र्याउन नसकिएमा फ्लिकले वर्तमान टोलीकै खेलाडीलाई सेन्ट्रल फरवार्डका रूपमा प्रयोग गर्न सक्ने बताएका छन्।
उनका अनुसार गोर्डन र आदेयेमी दुवै विङ्गका साथै आवश्यक पर्दा सेन्ट्रल फरवार्डको भूमिकामा पनि खेल्न सक्छन्। यमलले पनि त्यो भूमिका निभाउन सक्ने भए पनि उनलाई मुख्य रूपमा राइट विङ्गमै खेलाउने योजना रहेको फ्लिकको भनाइ छ।
फ्लिकले भने,‘लामिनले हाम्रो लागि एक–दुई खेलमा बीचबाट खेलेको छ। उनी असाधारण र विश्वस्तरीय खेलाडी हुन्। त्यसैले त्यो भूमिकामा पनि राम्रो गर्न सक्छन्। तर‚ हामी उनलाई मुख्य रूपमा नम्बर सातकै भूमिकामा हेर्न चाहन्छौं। गोर्डन र आदेयेमीले दुवै विङ्गमा खेल्न सक्छन्, आवश्यक पर्दा नम्बर ९ पनि बन्न सक्छन्। हामीसँग धेरै विकल्प छन्।’
बार्सिलोनाले अझै पनि आल्भारेजलाई प्राथमिक लक्ष्य बनाएको छ। यद्यपि, ला लिगाको नयाँ सिजन सुरु हुनुअघि वैकल्पिक योजनामाथि पनि काम भइरहेको छ।
स्पेनिस च्याम्पियनले नयाँ सिजनको पहिलो खेल अगस्ट २३ मा एल्चेविरुद्ध खेल्ने तालिका छ। यसैबीच, फ्रान्सेली युवा फरवार्ड एली जुनियर क्रुपीलाई अनुबन्ध गर्ने सम्भावनाबारे पनि बार्सिलोनाले चासो देखाएको थियो।
तर‚ खुट्टाको चोटका कारण उनी हालका लागि बोर्नमाउथमै रहने सम्भावना बढी रहेको बताइएको छ।












