नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

काठमाडौं। नेपालले आगामी वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप खेल्न छनोट प्लेअफ चरणदेखि नै खेल्नुपर्ने भएको छ। ग्लोबल छनोट आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने भएको छ।
क्रिकइन्फोका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन।
आईसीसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचाअनुसार छनोट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण ‘सुपर सिरिज’ मा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सुपर सिरिजको विजेता टोलीले १२ राष्ट्र सहभागी हुने मुख्य विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ वटा सहरमा अक्टोबर ४ देखि नोभेम्बर ११ सम्म आयोजना हुनेछ।
विश्वकप छनोट प्रतियोगितामा कुल १० टोली सहभागी हुनेछन्। सेप्टेम्बर ३०, २०२६ सम्मको एकदिवसीय वरीयताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक पूर्ण सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेका दुई टोली, लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट छनोट हुने चार टोलीले प्रतियोगितामा स्थान बनाउनेछन्।
विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। हाल लिग २ को तालिकामा नेपाल हाल छैटौं स्थानमा छ। ३२ खेलबाट नेपालले ११ जित, १९ हार र २ खेल नतिजाविहीन रहँदा नेपालले २४ अंक जोडेको छ। नेपालले बाँकीको एक शृंखलाबाट सबै चार खेलमा जित निकाले पनि शीर्ष चारमा अटाउन मुस्किल हुनेछ।
च्यालेन्ज लिगलाई विश्व क्रिकेटको तेस्रो स्तरको प्रतियोगिता मानिन्छ। प्लेअफको ढाँचा अझै तय नभए पनि आठ टोलीबीच हुने यस प्रतियोगिताबाट उत्कृष्ट चार टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन्।
च्यालेन्ज लिगमा १२ टोली सहभागी हुनेछन्, जसलाई ६–६ टोलीका दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले प्रतियोगिताको चक्रभरि तीनवटा राउन्ड–रोबिन प्रतियोगिता खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोलीले विश्वकप छनोट प्लेअफमा स्थान बनाउनेछन्।
यसबीच वेस्ट इन्डिज अहिले एकदिवसीय वरीयताको १०औं स्थानमा रहेको छ। उसले सेप्टेम्बरमा भारतविरुद्ध दुई एकदिवसीय खेल मात्र खेल्न बाँकी छ। ती खेलको नतिजासँगै अफगानिस्तान (आठौं स्थान) र आयरल्यान्ड (१२औं स्थान) बीच हुने आगामी शृंखलाको परिणामले पनि वेस्ट इन्डिजको वरीयतामा प्रभाव पार्नेछ।
यदि आयरल्यान्डले अफगानिस्तानलाई ४–१ वा ५–० ले हराउँदै शृंखला जित्यो भने भारतविरुद्ध दुई खेल जितेपछि वेस्ट इन्डिज शीर्ष आठभित्र पुग्न सक्छ। तर अफगानिस्तानले शृंखला जितेमा वेस्ट इन्डिजले सन् २०२७ विश्वकपमा स्थान बनाउन छनोट प्रतियोगिता खेल्नुपर्ने सम्भावना लगभग निश्चित हुनेछ।
यसअघि पनि वेस्ट इन्डिज सन् २०२३ को एकदिवसीय विश्वकपका लागि सिधै छनोट हुन असफल भएको थियो। त्यसपछि हरारेमा भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएपछि पहिलो पटक वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको थियो।













-1785901418202.webp&w=3840&q=75)
