अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

काठमाडौं। म्याच फिक्सिङ तथा भ्रष्टाचारविरुद्धको अनुसन्धानमा अवरोध पुर्याएको आरोपमा अमेरिकाका क्रिकेटर बोडुगुम अखिलेश रेड्डीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सबै प्रकारका क्रिकेट गतिविधिबाट ८ वर्षका लागि प्रतिबन्ध लगाएको छ।
आईसीसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्वतन्त्र भ्रष्टाचारविरोधी न्यायाधिकरणले रेड्डीलाई आईसीसीको भ्रष्टाचारविरोधी आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गरेको जनाएको छ। यी आरोपहरू २०२५ को अबुधाबी टी–१० लिगका क्रममा भएका घटनासँग सम्बन्धित छन्।
गत वर्ष नोभेम्बरमा अनुसन्धान जारी रहँदा रेड्डीलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो। अहिले सोही निलम्बनलाई अन्तिम निर्णयमार्फत ८ वर्षे प्रतिबन्धमा परिणत गरिएको हो। यो प्रतिबन्ध २१ नोभेम्बर २०२५ देखि लागू भएको मानिनेछ, जुन दिन उनलाई पहिलो पटक अस्थायी रूपमा निलम्बन गरिएको थियो।
आईसीसीका अनुसार अबुधाबी टी–१० प्रतियोगिताका लागि संयुक्त अरब इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) ले आईसीसीलाई तोकिएको भ्रष्टाचारविरोधी अधिकारी (डीएसीओ) को जिम्मेवारी दिएको थियो। सोही अनुसन्धानका आधारमा रेड्डीविरुद्धका आरोपहरू प्रमाणित भएका हुन्।
न्यायाधिकरणले रेड्डीलाई तीनवटा आरोपमा दोषी ठहर गरेको छ। पहिलो उनले २०२५ को अबुधाबी टी–१० लिगका एक वा एकभन्दा बढी खेलको नतिजा, खेलको प्रगति वा अन्य पक्षलाई गैरकानुनी रूपमा प्रभावित पार्ने प्रयास गर्दै म्याच फिक्सिङको षड्यन्त्रमा संलग्नता देखाएका थिए।
दोस्रो उनले अर्को एक सहभागीलाई म्याच फिक्सिङमा संलग्न हुन प्रेरित वा प्रोत्साहित गर्ने प्रयास गरेका थिए। तेस्रो भ्रष्टाचारविरोधी अनुसन्धानका क्रममा आफ्नो मोबाइल फोनबाट अनुसन्धानसँग सम्बन्धित महत्त्वपूर्ण सन्देश र जानकारी मेटाएर अनुसन्धान प्रक्रियामा अवरोध पुर्याएका थिए।
यी तीनै आरोप प्रमाणित भएपछि आईसीसीले बोडुगुम अखिलेश रेड्डीलाई सबै प्रकारका क्रिकेट गतिविधिबाट ८ वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।







-1785341744464.jpeg&w=3840&q=75)




-1785743764437.jpeg&w=3840&q=75)


