चेल्सी पुगे बार्को

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनाका अन्तर्राष्ट्रिय मिडफिल्डर भालेन्टिन बार्कोलाई फ्रान्सेली क्लब आरसी स्ट्रासबर्गबाट सात वर्षका लागि अनुबन्ध गरेको छ। क्लबले आइतबार उनको सम्झौताको पुष्टि गरेको हो।
यद्यपि, स्थानान्तरण रकम भने सार्वजनिक गरिएको छैन। २२ वर्षीय बार्को गत महिना सम्पन्न विश्वकपको फाइनलमा स्पेनसँग १–० ले पराजित भएको अर्जेन्टिनी टोलीका सदस्य थिए।
उनले गत सिजन स्ट्रासबर्गबाट खेलेका थिए, जहाँ फ्रान्सेली क्लबले ब्राइटन एन्ड होभ एल्बियनबाट लोनमा आएका उनलाई स्थायी रूपमा अनुबन्ध गरेको थियो।
चेल्सीले विज्ञप्तिमार्फत भनेको छ,‘अर्जेन्टिनी अन्तर्राष्ट्रिय भालेन्टिन बार्कोलाई आरसी स्ट्रासबर्गबाट अनुबन्ध गरेको पुष्टि गर्न पाउँदा हामी खुसी छौं। बहुपयोगी मिडफिल्डरले सन् २०३३ सम्मको सम्झौतामा हस्ताक्षर गरेका छन् र प्रि-सिजनको बाँकी तयारीका क्रममा प्रशिक्षक जाबी अलोन्सो तथा नयाँ टोलीसँग आबद्ध हुनेछन्।’
बार्कोले स्ट्रासबर्गका लागि सबै प्रतियोगितामा ५८ खेल खेल्दै तीन गोल गरेका थिए भने ११ असिस्ट दिएका थिए। अर्जेन्टिनाका लागि पाँच अन्तर्राष्ट्रिय खेल खेलिसकेका बार्कोले दुई गोल पनि गरेका छन्।
उनले आफ्नो व्यावसायिक करिअर बोका जुनियर्सबाट सुरु गरेका थिए। सन् २०२४ मा ब्राइटनमा आबद्ध भएका थिए। नयाँ सिजनअघि चेल्सीले टोलीलाई थप बलियो बनाउने क्रममा एस्टन भिल्लाबाट प्लेमेकर मोर्गन रोजर्स, क्रिस्टल प्यालेसबाट डिफेन्डर माक्सेन्स लाक्रोआ, एटलान्टाबाट मार्को पालेस्ट्रा र ब्राइटनबाट स्ट्राइकर ड्यानी वेलबेकलाई पनि अनुबन्ध गरिसकेको छ।
अलोन्सोको प्रशिक्षणमा रहेको चेल्सीले गत सिजन प्रिमियर लिगमा १०औं स्थानमा रहेर सिजन टुंग्याएको थियो। टोलीले नयाँ सिजनको पहिलो खेल अगस्ट २४ मा फुलहमविरुद्ध खेल्नेछ।










-1785664789305.jpeg&w=3840&q=75)

