पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं। विश्वकप फाइनलपछि भएको झडपका कारण अर्जेन्टिनाका डिफेन्सिभ मिडफिल्डर लिआन्ड्रो पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने भएको छ। यद्यपि, फिफाको नियमावलीमा रहेको कानुनी प्रावधानका कारण उनी सजायबाट जोगिन सक्ने सम्भावना पनि रहेको बताइएको छ।
१९ जुलाईमा न्यु जर्सीमा भएको फाइनलको अन्तिम सिट्टीसँगै अर्जेन्टिनाका केही खेलाडी स्पेनका खेलाडीतर्फ आक्रामक रूपमा उत्रिएका थिए। टेलिभिजन दृश्यअनुसार पारेडेसले स्पेनका एरिक गार्सियालाई किक प्रहार गरेका थिए भने त्यसपछि गाभीलाई पनि भुइँमा लडाएका थिए। उक्त घटनामा नाहुएल मोलिना, थियागो आल्माडा र अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयाला पनि संलग्न रहेका थिए।
इङ्ग्ल्यान्डका पूर्वस्ट्राइकर एलन शियररले कमेन्ट्रीका क्रममा पारेडेसको व्यवहारको आलोचना गरेका थिए। उनका अनुसार खेल सकिएपछि देखिएको यस्तो हिंसात्मक प्रतिक्रिया फुटबलमा स्वीकार्य हुन सक्दैन।
सुरुआती रिपोर्टमा रेफ्री स्लाभ्को भिन्चिचले पारेडेसलाई सो घटनाका लागि सिधै रातो कार्ड देखाएको दाबी गरिएको थियो। तर‚ पछि सार्वजनिक भएका विवरणअनुसार खेलका क्रममा उनीमाथि कुनै अनुशासनात्मक कारबाही गरिएको थिएन।
घटनापछि फिफाले औपचारिक अनुसन्धान सुरु गरेको छ। द मिररका अनुसार फिफाको आचारसंहिताको धारा १४ अन्तर्गत हिंसात्मक व्यवहारमा संलग्न खेलाडीलाई प्रत्येक आरोपमा कम्तीमा ३ खेलको प्रतिबन्ध लाग्न सक्छ। यदि पारेडेसमाथि तीनवटै आरोप प्रमाणित भए उनले कम्तीमा ९ खेल गुमाउनुपर्ने अवस्था आउन सक्छ।
यद्यपि, पारेडेसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएमा यो प्रतिबन्ध लागू नहुन सक्ने चर्चा पनि छ। तर‚ फिफाले आचारसंहिताको धारा ७० प्रयोग गरेमा उनीमाथि विश्वव्यापी प्रतिबन्ध लाग्न सक्छ, जसअन्तर्गत सबै प्रकारका फुटबल गतिविधिबाट निलम्बन गरिनेछ।
यसअघि सन् २०१४ को विश्वकपमा इटालीका जर्जियो किलिनीलाई टोकेको घटनापछि उरुग्वेका लुइस सुआरेजमाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको थियो। यद्यपि, यस्तो व्यवस्था सामान्यतया अत्यन्त गम्भीर अनुशासनहीन घटनामा मात्र लागू हुने भएकाले पारेडेसको हकमा धारा ७० प्रयोग हुने सम्भावना कम रहेको विश्वास गरिएको छ।
आफ्नो भविष्यबारे पारेडेसले भनेका छन्,‘अहिले नै केही भन्न सक्दिनँ। यो सोच्नुपर्ने विषय हो। हतारमा निर्णय लिन मिल्दैन। यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक छ।’
यदि लामो प्रतिबन्ध लाग्ने निश्चित भयो भने पारेडेसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने विकल्पबारे पनि विचार गर्न सक्ने अनुमान गरिएको छ।










-1785664789305.jpeg&w=3840&q=75)

