सुखद् रहेन मोरिन्होको पुनरागमन

काठमाडौं। रियल मड्रिडमा जोसे मोरिन्होको दोस्रो कार्यकालको सुरुआत जितबाट हुन सकेन। शनिबार भएको प्रि–सिजन मैत्रीपूर्ण खेलमा रियल इटालियन क्लब फियोरेन्टिनासँग २–२ को बराबरीमा रोकिएको हो।
अस्ट्रियाको क्लागेनफुर्टस्थित वोर्थरसी स्टेडियममा भएको खेलमा रियलले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो। ब्राजिली फरवार्ड एन्ड्रिक र युवा खेलाडी अलेक्सिस सिरियाले गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए।
तर‚ दोस्रो हाफमा रोबर्टो पिसोली र मोइसे किनले गोल गर्दै फियोरेन्टिनालाई खेलमा फर्काए। खेलको अन्तिम समयमा नयाँ अनुबन्धित खेलाडी कार्लोस एसपीले हेडमार्फत विजयी गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
यसै सिजन टोलीमा भित्रिएका अर्का खेलाडी डेन्जेल डम्फ्रिसले ७५ मिनेट मैदानमा बिताए। रियलमा पुनरागमनपछि मोरिन्होले आफ्नो पहिलो रोजाइमा पहिलो टोलीका आठ खेलाडीलाई उतारेका थिए।
सुरुआती टोलीमा आन्द्रेई लुनिन, ट्रेन्ट अलेक्जान्डर–आर्नोल्ड, आल्भारो कारेरास, फेडेरिको भाल्भेर्दे, एडुआर्डो कामाभिङ्गा, आर्दा गुलर, डेन्जेल डम्फ्रिस र एन्ड्रिक रहेका थिए। उनीहरूसँगै एकेडेमीका जोआओ मार्टिनेज, मारियो रिभास र अलेक्सिस सिरियाले पनि अवसर पाए।
गत सिजनको अन्त्यतिर लियोनमा ऋणमा खेलेका एन्ड्रिकले खेलको १२औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। उनले कामाभिङ्गाको पासलाई सदुपयोग गर्दै गोलकिपर डाभिड डे हेआलाई पराजित गरे। त्यसपछि कामाभिङ्गाकै उत्कृष्ट पासमा सिरियाले दोस्रो गोल थपे।
तर‚ फियोरेन्टिनाले पनि हार मानेन। रोबर्टो पिसोलीको शक्तिशाली प्रहारमा गोलकिपर लुनिन पराजित भए भने मोइसे किनले अर्को गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए।
हालै मात्र रियलसँग सम्झौता गरेका कार्लोस एसपी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उनले अन्तिम समयमा हेडमार्फत गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन्।
खेलपछि एसपीले भने,‘म अहिले संसारकै सबैभन्दा खुसी व्यक्ति हुँ। रियल मड्रिडमा आएको ७२ घण्टा पनि भएको छैन। यसबीचमा प्रशिक्षण गर्ने र क्लबबाट डेब्यु गर्ने अवसर पाएँ। मोरिन्होले मलाई आफ्नै शैलीमा खेल्न र पेनाल्टी बक्सभित्र आत्मविश्वासका साथ प्रवेश गर्न सुझाव दिनुभएको छ।’









-1785598621142.jpeg&w=3840&q=75)
-1785576703600.jpeg&w=3840&q=75)

