अल–नासर फर्किएनन् रोनाल्डो

काठमाडौं। नयाँ सिजनको तयारी अन्तिम चरणमा पुगे पनि साउदी क्लब अल–नासरका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो अझै टोलीको प्रि–सिजन क्याम्पमा सामेल भएका छैनन्।
नयाँ सिजन सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहँदा रोनाल्डोको अनुपस्थितिलाई टोलीको एकमात्र अपूर्णता मानिएको छ। अल–नासरले जुलाई १९ देखि पोर्चुगलको राजधानी लिस्बनमा प्रि–सिजन प्रशिक्षण सुरु गरेको हो। प्रारम्भमा केही खेलाडी अनुपस्थित रहे पनि क्रमशः सबैजसो खेलाडी टोलीमा फर्किएका छन्।
साउदी पत्रकार रतिबान अल–दोसारीका अनुसार शुक्रबार साँझ पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स र सेनेगाली स्टार साडियो माने लिस्बन पुगेका छन्। यसअघि बुधबार राति डिफेन्डर अब्दुलइलाह अल–अमरी पनि प्रशिक्षणमा सहभागी भएका थिए।
यससँगै अल–नासरको टोलीमा अब केवल क्रिस्टियानो रोनाल्डोको आगमन मात्र बाँकी रहेको छ। जुलाई ६ मा पोर्चुगलको विश्वकप अभियान समाप्त भएपछि ४१ वर्षीय रोनाल्डो बिदामा रहेका छन्। साउदी सञ्चारमाध्यमहरूका अनुसार उनी छिट्टै लिस्बनस्थित टोलीको प्रशिक्षण क्याम्पमा सहभागी हुने अपेक्षा गरिएको छ।
अल–नासरले अगस्ट १५ मा अल–फातेहविरुद्धको खेलबाट साउदी प्रो लिगको नयाँ सिजनको सुरुआत गर्नेछ। सात वर्षपछि गत सिजन लिग उपाधि पुनः जितेको अल–नासर यस पटक पनि उपाधि जोगाउने लक्ष्यमा छ। साथै क्लबले पहिलोपटक एएफसी च्याम्पियन्स लिग इलिटको उपाधि जित्ने लक्ष्यसहित नयाँ सिजनको चुनौती सुरु गर्ने तयारी गरेको छ।












