आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

काठमाडौं। विश्व फुटबलमा ठूलो राजनीतिक र प्रशासनिक विवाद सुरु भएको छ।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले नयाँ वित्तीय योजनाको विरोध गर्दै आवश्यक परे फिफाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने चेतावनी दिएको छ। यसलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।
यूईएफएले बिहीबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा भनिएको छ,‘यूईएफए र यसका सदस्य राष्ट्रिय फुटबल संघ फिफाको कुनै पनि प्रतियोगितामा सहभागी हुने छैनन्।’ केही शब्दको यो घोषणाले भने विश्व फुटबलमा ठूलो तरंग ल्याएको छ।
विवादको केन्द्रमा इन्फान्टिनोको नयाँ वित्तीय योजना छ। उनले विश्वकपसहित फिफाका विभिन्न प्रतियोगिताको व्यवस्थापनका लागि स्थापना गर्न लागिएको सहायक कम्पनीको २० प्रतिशत सेयर निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव अघि सारेका छन्। कम्पनीको नियन्त्रण भने फिफाकै हातमा रहने बताइएको छ।
यस योजनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरलगायत निजी लगानीकर्ताको सहभागिता रहने चर्चा छ। यही कारणले पनि प्रस्तावलाई लिएर व्यापक आलोचना भइरहेको छ।

प्रतियोगितामा कस्तो असर पर्ला?
आगामी ५ सेप्टेम्बरदेखि पोल्यान्डमा सुरु हुने फिफा यू–२० महिला विश्वकपमा यो विवादको प्रभाव पर्न सक्ने सम्भावना रहेको छ। युरोपका धेरै टोली सहभागी हुने उक्त प्रतियोगितामा यदि फिफाको वित्तीय योजना स्वीकृत भयो भने यूईएफएले बहिष्कारको निर्णय लागू गर्न सक्छ।
फिफाका सदस्य राष्ट्रहरूले सेप्टेम्बर १९ भित्र यो योजनाबारे निर्णय दिनुपर्नेछ। प्रस्ताव पारित भएमा प्रत्येक सदस्य संघले १ जनवरीदेखि एकमुष्ट दुई करोड अमेरिकी डलर प्राप्त गर्नेछन्। यदि त्यसअघि नै बहिष्कार लागू भयो भने यू–२० महिला विश्वकपको क्वार्टरफाइनल वा सेमिफाइनल चरणमै केही टोली प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था बन्न सक्छ।
-1785496046896.jpg)
अक्टोबरमा हुने महिला विश्वकप प्लेअफमा इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डसहितका टोली सहभागी हुने तालिका छ। वेल्सकी पूर्वखेलाडी तथा यूईएफएकी उपाध्यक्ष लरा म्याकएलिस्टरले यस्तो अवस्थामा विश्वकपबाट बाहिर बस्ने कल्पना गर्नसमेत नसकिने बताएकी छन्।
उनले भनेकी छन्,‘यो संकट यूईएफएले होइन, फिफाले सिर्जना गरेको हो। खेलाडीहरूलाई क्षति पुग्नु हुँदैन र कुनै पनि राष्ट्र प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुनु हुँदैन।’
फिफाभित्र पनि बढ्दो असन्तुष्टि
यूईएफएको घोषणापछि फिफाले औपचारिक प्रतिक्रिया दिएको छैन। तर‚ उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) ले आफ्ना ४१ सदस्य संघले पनि इन्फान्टिनोको प्रस्ताव अस्वीकार गरेको जनाएको छ।

इङ्ल्यान्ड फुटबल संघकी अध्यक्ष तथा फिफाकी उपाध्यक्ष डेबी ह्युविटले यूईएफएको आपत्कालीन बैठकमै सार्वजनिक रूपमा योजनाको विरोध गरेकी थिइन्। त्यसपछि इङ्ल्यान्ड फुटबल संघले पनि आफू यूईएफएसँग एकमत रहेको जनाएको छ।
स्कटल्यान्ड फुटबल संघका अध्यक्ष तथा फिफा वित्त समिति अध्यक्ष माइक मुल्रानेले पनि यूईएफएको अडानलाई पूर्ण समर्थन गरेका छन्। विभिन्न अधिकारीहरूको भनाइमा असन्तुष्टि प्रस्तावसँग मात्र होइन, इन्फान्टिनोले फिफाभित्र आवश्यक छलफल नगरी योजना अघि बढाएको विषयसँग पनि जोडिएको छ।
इन्फान्टिनोको भविष्य संकटमा
सन् २०१६ मा एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालीन अध्यक्ष शेख सलमान अल–खलिफालाई पराजित गर्दै फिफा अध्यक्ष बनेका ५६ वर्षीय इन्फान्टिनो अर्को वर्ष हुने निर्वाचनमा चौथो कार्यकालका लागि पुनः उम्मेदवार बन्ने तयारीमा छन्।

यसअघि उनी निर्विरोध निर्वाचित हुने अनुमान गरिएको थियो। तर‚ अहिले अवस्था बदलिएको बताइएको छ। विभिन्न स्रोतका अनुसार कन्काकाफका धेरै सदस्य संघले इन्फान्टिनोमाथिको विश्वास गुमाउन थालेका छन् र उनीविरुद्ध उम्मेदवार खडा गर्ने विषयमा समेत छलफल सुरु भएको छ।
सम्भावित उम्मेदवारका रूपमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) का अध्यक्ष नासेर अल–खेलाइफीको नाम चर्चामा आएको छ। उनी युरोपियन फुटबल क्लब्स संगठनका अध्यक्षसमेत हुन्। यद्यपि, उनीनिकट स्रोतले अल–खेलाइफी स्वयं फिफा अध्यक्ष बन्न इच्छुक नरहेको जनाएको छ।
इतिहास हेर्दा पदमा रहेका फिफा अध्यक्षलाई निर्वाचनमा चुनौती दिने प्रथा निकै दुर्लभ मानिन्छ। सन् १९७४ पछि कुनै पनि वर्तमान अध्यक्ष निर्वाचनमा पराजित भएका छैनन्।
फिफाबाट यूईएफए अलग हुन सक्छ?
फिफाका २११ सदस्यमध्ये यूईएफएका सदस्य ५५ भए पनि विश्व फुटबलमा सबैभन्दा प्रभावशाली क्षेत्र युरोप नै हो। विश्वकप, महिला विश्वकप र क्लब विश्वकपका पछिल्ला संस्करणमा सेमिफाइनल पुगेका चार टोलीमध्ये तीन टोली युरोपकै रहेका थिए।

यदि युरोपेली टोलीले फिफाका प्रतियोगिता बहिष्कार गरे भने त्यसको व्यावसायिक असर निकै ठूलो हुने विश्लेषण गरिएको छ। इन्फान्टिनोले अघि सारेको करिब ४० अर्ब अमेरिकी डलर बराबरको परियोजनामा समेत त्यसले गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ।
इङ्ल्यान्ड फुटबल संघका पूर्वअध्यक्ष डेभिड बर्नस्टिनले भने अन्ततः समाधान निस्कने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार विश्व फुटबल लामो समयका लागि दुई भागमा विभाजित हुन सक्दैन। उनले भने,‘युरोपबिना फिफाले प्रतियोगिता सञ्चालन गर्न सक्दैन र फिफाका प्रतियोगिताबिना युरोप पनि अघि बढ्न सक्दैन। अहिले पछि हट्नुपर्ने पक्ष इन्फान्टिनो हुन्। यो प्रस्ताव स्वीकार्य छैन।’
यूईएफएका पूर्वप्रमुख कार्यकारी लार्स–क्रिस्टर ओल्सनले पनि इन्फान्टिनोले अत्यधिक जोखिम लिएको टिप्पणी गर्दै फिफामा नेतृत्व प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। उनका अनुसार महादेशीय महासंघका प्रतिनिधिबीच पालैपालो अध्यक्ष छनोट हुने व्यवस्था लागू गरिनुपर्छ, ताकि एउटै व्यक्तिमा लामो समयसम्म अत्याधिक शक्ति केन्द्रित नहोस्।
ओल्सनले इन्फान्टिनोलाई पदबाट हटाइए विश्व फुटबलका लागि नयाँ सुरुआत हुने विश्वाससमेत व्यक्त गरेका छन्।












