इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

काठमाडौं। इतिहासमै पहिलोपटक पाँच पटकको विश्व विजेता ब्राजिलको राष्ट्रिय फुटबल टोली भारतमा खेल्न आउने भएको छ। यसबारे बिहीबार ब्राजिल फुटबल महासंघ र अखिल भारतीय फुटबल महासंघले संयुक्त रूपमा जानकारी दिएका छन्।
ब्राजिलले आगामी अक्टोबर ३ कोलकातास्थित साल्ट लेक रंगशालामा भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। खेल सुरु हुने समय भने अझै सार्वजनिक गरिएको छैन।
भारतीय फुटबलका लागि यो ऐतिहासिक अवसर हुनेछ। सन् १९९२ मा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्व वरीयता प्रणाली लागू गरेयता भारतले यति उच्च स्थानमा रहेको टोलीसँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो।
यसअघि सन् २०११ मा यही रंगशालामा अर्जेन्टिनाका लिओनल मेसीले खेलेका थिए। तर‚ त्यसबेला अर्जेन्टिनाको प्रतिस्पर्धी भेनेजुएला थियो। यसपटक भने भारतले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।
ब्राजिल फुटबल महासंघका अनुसार टोलीले अस्ट्रेलियाविरुद्ध दुई वटा मैत्रीपूर्ण खेल खेलेपछि भारतको भ्रमण गर्नेछ। ब्राजिलले सेप्टेम्बर २५ टाउन्सभिल र सेप्टेम्बर २९ ब्रिस्बेनमा अस्ट्रेलियासँग खेल्नेछ। त्यसपछि टोली अक्टोबर ३ कोलकातामा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
महासंघले जारी गरेको विज्ञप्तिमा भारतमा खेल्न पाउनु आफ्नो टोलीका लागि विशेष खुसीको विषय भएको उल्लेख गरिएको छ। ब्राजिलबाहिर सबैभन्दा धेरै ब्राजिल समर्थक भारतमा रहेको र पुस्तौँदेखि भारतीय समर्थकहरूले ब्राजिलको फुटबलप्रति देखाउँदै आएको माया र उत्साहको प्रत्यक्ष अनुभूति गर्न टोली आतुर रहेको विज्ञप्तिमा जनाइएको छ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा भिनिसियस जुनियर, एन्ड्रिक, म्याथ्यू कुन्हा, मार्किन्होस र ब्रुनो गिमाराइसजस्ता चर्चित खेलाडी कोलकातामा देखिने सम्भावना रहेको छ। यद्यपि‚ यो मैत्रीपूर्ण खेल भएकाले सबै चर्चित खेलाडी मैदानमा उत्रिनेछन् वा उत्रिनेछैनन् भन्ने विषय अझै निश्चित भइसकेको छैन।












-1785385039139.webp&w=3840&q=75)