अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्यो अनुशासनात्मक अनुसन्धान

काठमाडौं। विश्वकप सकिए पनि अनुशासन उल्लंघनसँग सम्बन्धित घटनाका कारण अर्जेन्टिना राष्ट्रिय फुटबल टोली विश्व फुटबलको सर्वोच्च नियामक संस्था फिफाको छानबिनमा परेको छ।
सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गरेपछि फकल्यान्ड द्वीपसमूह (माल्भिनास) अर्जेन्टिनाकै भूभाग भएको दाबी गर्दै ब्यानर प्रदर्शन गरिएको तथा फाइनलपछि स्पेनका खेलाडीसँग मैदानमै झडप भएको आरोपमा फिफाले अर्जेन्टिना र उसका केही खेलाडीविरुद्ध औपचारिक अनुसन्धान थालेको हो।
एटलान्टामा भएको सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई हराएर फाइनलमा पुगेपछि खुसीयाली मनाउने क्रममा लिसान्द्रो मार्टिनेज र जियोभानी लो सेल्सोसहितका खेलाडीले ‘माल्भिनास अर्जेन्टिनाकै हो’ भन्ने आशयको ब्यानर प्रदर्शन गरेका थिए। फिफाको आचारसंहिताअनुसार कुनै पनि खेलकुद प्रतियोगितालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
यसअघि पनि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलमा यही ब्यानर प्रयोग गरेको भन्दै अर्जेन्टिना फुटबल संघलाई फिफाले २० हजार पाउन्ड जरिवाना गरेको थियो। यसपटक ब्यानर विवादसँगै समर्थकबाट विभेदपूर्ण नाराबाजी, खेल निर्धारित समयभन्दा ढिलो सुरु गराएको तथा सुरक्षा व्यवस्था उल्लंछन गरेको लगायतका आरोपसमेत अर्जेन्टिनामाथि लगाइएको छ।
उता, न्यु जर्सीमा भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि दुवै टोलीका खेलाडीबीच मैदानमै झडप भयो। अन्तिम सिटी बज्नासाथ स्पेनका वैकल्पिक खेलाडीहरू जितको उत्सव मनाउन मैदानमा प्रवेश गर्दा अर्जेन्टिनाका लियान्द्रो परेडेसले स्पेनका मध्यपङ्क्तिका खेलाडी गाभीलाई धक्का दिएर लडाएको आरोप लागेको छ।
यस घटनापछि फिफाले परेडेसविरुद्ध असदाचार र शारीरिक आक्रमणसम्बन्धी तीनवटा आरोप लगाएको छ। साथै नाहुएल मोलिनाविरुद्ध दुईवटा तथा थियागो आल्मादा, अर्जेन्टिना टोलीका अधिकारी रोबर्टो आयाला र स्पेनका गाभीविरुद्ध एक–एकवटा असदाचारको आरोप लगाउँदै स्पष्टीकरण मागिएको छ।
फिफाको अनुशासन समितिले सबै आरोपितलाई आफ्नो पक्ष राख्ने अवसर दिइएको जनाएको छ। सुनुवाइ सम्पन्न भएपछि मात्र सम्भावित कारबाहीबारे अन्तिम निर्णय सार्वजनिक गरिने फिफाले स्पष्ट गरेको छ।







-1785385039139.webp&w=3840&q=75)



-1785341744464.jpeg&w=3840&q=75)
