आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल
बुधबार, १३ श्रावण २०८३खेलपाटी संवाददाता

पेनाङ, मलेसिया। नेपाली राष्ट्रिय फुटबल खेलाडी आशीष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
आगामी २ अगस्ट २०२६ का दिन पेनाङमा एन पेनाङ एफसी (मलेसिया) र नेपबोर्न एफसी (अष्ट्रेलिया) बीच यो विशेष खेल हुन लागेको हो।
एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत यो च्यारिटी म्याचको आयोजना गरिएको हो। खेलबाट संकलन हुने सम्पूर्ण सहयोग रकम हाल उपचाररत रहेका राईलाई हस्तान्तरण गरिने जानकारी अध्यक्ष थापाले दिए।
‘यो दुई क्लबबीचको खेल मात्र नभई अप्ठ्यारो स्थितिमा रहेका हाम्रा होनहार राष्ट्रिय खेलाडीलाई बचाउने र सहयोग गर्ने एउटा अभियान हो,’ उनले भने।












