कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

काठमाडौं। स्पेनका डिफेन्डर मार्क कुकुरेलाले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेसँग गरेको वाचा पूरा गरेका छन्।
उनले स्पेनले विश्वकप जिते प्रशिक्षकको अनुहारको ट्याटु आफ्नो शरीरमा खोप्ने प्रतिबद्धता जनाएका थिए। स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै विश्वकप उपाधि जितेको थियो।
उक्त जितपछि प्रशिक्षक फुएन्तेले मुस्कुराउँदै कुकुरेलाले आफ्नो वाचा अवश्य पूरा गर्ने विश्वास व्यक्त गरेका थिए। मंगलबार कुकुरेलाले आफ्नो बायाँ हातमा विश्वकप ट्रफी समातेका प्रशिक्षक फुएन्तेको चित्र ट्याटुका रूपमा खोपाएर आफ्नो प्रतिबद्धता पूरा गरे।
उनले इन्स्टाग्राममा ट्याटु बनाउँदै गरेको भिडियो सार्वजनिक गर्दै ‘वाचा पूरा भयो’ भन्ने सन्देश पनि लेखेका छन्। रियल मड्रिडका खेलाडी कुकुरेलाले विश्वकपभर आफ्नी श्रीमतीको पायजामाको माथिल्लो भागलाई भाग्यमानी चिनोका रूपमा साथमा राखेका थिए।
उनले प्रतियोगिताका सबै आठ खेलमा सुरुआती रोजाइमा स्थान बनाएका थिए र स्पेनलाई सात खेलमा ‘क्लिन सिट’ कायम राख्न महत्त्वपूर्ण योगदान दिएका थिए।












