जिदानको नेतृत्वमा अब फ्रान्स

काठमाडौं। लामो प्रतीक्षाको अन्त्य गर्दै फ्रान्स राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा जिनेदिन जिदान औपचारिक रूपमा नियुक्त भएका छन्। फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले जिदानसँग चार वर्षको सम्झौता गरेको छ।
पेरिसस्थित महासंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एफएफएफका अध्यक्ष फिलिप डियालोले जिदानलाई डिडियर डेसच्याम्प्सका उत्तराधिकारीका रूपमा सार्वजनिक गरेका हुन्। डियालोका अनुसार डेसच्याम्प्सले सन् २०२६ को विश्वकपपछि पद छाड्ने घोषणा गरेको केही सातापछि नै जिदानसँग औपचारिक छलफल सुरु गरिएको थियो।
पत्रकार सम्मेलनको सुरुमै जिदानले लामो समय फ्रान्सको सफल नेतृत्व गरेका पूर्व प्रशिक्षक डेसच्याम्प्सलाई पनि धन्यवाद तथा शुभकामना दिए। आफ्नो भावी योजनाबारे बोल्दै जिदानले पछिल्ला पाँच वर्ष प्रशिक्षकको जिम्मेवारीबाट टाढा रहे पनि विभिन्न क्लब र राष्ट्रिय टोलीबाट आएका प्रस्ताव अस्वीकार गरेको बताए। उनका अनुसार फ्रान्सको राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने लक्ष्यका कारण उनले अन्य कुनै प्रस्ताव स्वीकार गरेनन्।
जिदानले भने,‘रियल मड्रिडमा काम गरेपछि मैले धेरै प्रस्ताव पाएँ। तर ती सबै अस्वीकार गरेँ, किनकि मेरो लक्ष्य फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु थियो। यही जिम्मेवारी मात्र म लिन चाहन्थेँ। अब मेरो मुख्य उद्देश्य टोलीसँग मिलेर सफलता कायम राख्नु हो।’
उनले फ्रान्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको दिनलाई आफ्नो प्रशिक्षक जीवनकै सबैभन्दा विशेष क्षणका रूपमा वर्णन गर्दै भने,‘आज मेरो प्रशिक्षक जीवनको सबैभन्दा खुसीको दिन हो।’












-1785212450734.webp&w=3840&q=75)