संकटमा राफिन्हा

काठमाडौं। विश्वकपका क्रममा ह्यामस्ट्रिङमा चोट बोकेका बार्सिलोनाका ब्राजिली फरवार्ड राफाएल राफिन्हा पूर्ण रूपमा फिट हुँदै स्पेनी च्याम्पियन बार्सिलोनाको प्रशिक्षणमा फर्किने तयारीमा छन्।
तर, उनी टोलीमा फर्किनुअघि क्लबले केही नयाँ खेलाडी अनुबन्ध गरेकाले पहिलो रोजाइमा स्थान बनाउन राफिन्हाले प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएको छ। यतिसम्म कि उनलाई क्लबबाट बिक्री गर्ने विषयमा समेत चर्चा सुरु भएको छ।
स्पेनी सञ्चारमाध्यम मार्काका अनुसार राफिन्हाले बार्सिलोनामा आफ्नो पाँचौं सिजन सुरु गर्न लागेका हुन्। तर, २९ वर्षीय ब्राजिली विंगरका लागि यो यात्रा पहिलेभन्दा चुनौतीपूर्ण हुने देखिएको छ।
आगामी २०२६–२७ सिजनमा राफिन्हाको सबैभन्दा ठूलो चुनौती बायाँ विंगमा आफ्नो स्थान जोगाउनु हुनेछ। बार्सिलोनाले इङ्लिस विंगर एन्थोनी गोर्डनलाई ठूलो रकम खर्चेर टोलीमा भित्र्याएको छ। यसले राफिन्हामाथिको प्रतिस्पर्धा अझ कठिन बनाएको छ।

न्युक्यासल युनाइटेडका पूर्वखेलाडी गोर्डन यस समरमा बार्सिलोनाले अनुबन्ध गरेका दुई नयाँ खेलाडीमध्ये एक हुन्। यसबाहेक जर्मन विंगर करिम आदेयेमी पनि बायाँ विंगरमा उत्कृष्ट गति, ड्रिब्लिङ, अवसर सिर्जना गर्ने क्षमता र गोल गर्ने कौशलका कारण प्रशिक्षक हान्सी फ्लिकका लागि महत्त्वपूर्ण विकल्प मानिएका छन्। त्यस्तै, फर्मिन लोपेज र फेरान टोरेस पनि सोही स्थानका लागि प्रतिस्पर्धामा छन्।
यसअघि साउदी अरेबियाका केही क्लबले राफिन्हालाई आकर्षक प्रस्ताव गरेका थिए। तर, उनले ती सबै प्रस्ताव अस्वीकार गरेका थिए। सन् २०२८ जुनसम्म बार्सिलोनासँग सम्झौतामा रहेका राफिन्हा सोही सम्झौताको अवधि पूरा गर्न चाहन्छन्।
तर, क्लबभित्रका केही प्रभावशाली अधिकारी भने राफिन्हालाई बिक्री गर्नुपर्ने पक्षमा छन्। राफिन्हाको स्थानमा पर्याप्त विकल्प उपलब्ध छन् भने उनको बजार मूल्य पनि उच्च रहेकाले बिक्रीबाट राम्रो आम्दानी गर्न सकिन्छ। हाल उनको अनुमानित बजार मूल्य करिब ७ करोड युरो रहेको छ।
गत सिजन चोटका कारण राफिन्हाले १७ खेल गुमाएका थिए। यही कारण पनि केही अधिकारीले उनको भविष्यबारे प्रश्न उठाएका छन्। राफिन्हा सन् २०२२ मा इङ्लिस क्लब लिड्स युनाइटेडबाट बार्सिलोनामा आबद्ध भएका थिए। त्यसयता उनले बार्सिलोनाका लागि १७७ खेल खेल्दै ७७ गोल गरेका छन् भने ५२ गोलका लागि अवसर सिर्जना (असिस्ट) गरेका छन्।












-1785212450734.webp&w=3840&q=75)