टाइगरको यात्रा अब फुटबलतिर

काठमाडौं। बलिउड अभिनेता टाइगर श्राफले मुम्बई एफसीमा व्यवसायिक फुटबलमा डेब्यु गर्ने भएका छन्। १३५औं डुरान्ड कपका लागि क्लबले उनलाई आधिकारिक रूपमा टोलीमा दर्ता गरेको हो।
उनलाई समूह चरणको अन्तिम खेलमा खेलाउने तयारी गरेको क्लब स्रोतले जनाएको छ। ३६ वर्षीय श्राफ केही समययता नियमित रूपमा टोलीसँग प्रशिक्षण गरिरहेका छन्। उद्यमी अली अहमदको स्वामित्वमा रहेको मुम्बई ३० जुलाईमा आफ्ना समूह चरणका खेल खेल्न शिलाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
रेभस्पोर्ट्जको रिपोर्टले भनेको छ,‘श्राफ टोलीमा दर्ता भइसकेका छन् र समूह चरणको अन्तिम खेलमा मैदान उत्रिने सम्भावना धेरै छ।’ श्राफले सन् २०२४ मा मुम्बईको औपचारिक उद्घाटन गरेका थिए। उनी क्लबका ब्रान्ड एम्बेसडर पनि हुन्।
पछिल्ला केही वर्षमा मुम्बईले उल्लेखनीय सफलता हासिल गरेको छ। क्लबले पहिलो महाराष्ट्र स्टेट क्लब लिग च्याम्पियनसिप जितेको थियो भने गत सिजन तेस्रो संस्करणको आई–लिगमा तेस्रो स्थान हासिल गर्दै पहिलो पटक डुरान्ड कपमा स्थान सुरक्षित गरेको थियो।
डुरान्ड कपको समूह ‘ई’ मा रहेको मुम्बईले शिलाङ लाजोङ एफसी, नोङ्कसेह स्पोर्ट्स एन्ड कल्चरल क्लब र ल्याङ्सनिङ एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह चरणका सबै खेल शिलाङमै आयोजना हुनेछन्।
यदि श्राफ मैदानमा उत्रिए भने उनी भारतीय फुटबलमा सहभागिता जनाउने पछिल्ला बलिउड हस्तीमध्ये एक बन्नेछन्। यसअघि अभिनेता जोन अब्राहम सह–स्वामित्व रहेको नर्थइस्ट युनाइटेड एफसीले डुरान्ड कपका अघिल्ला दुई संस्करणको उपाधि जितेको थियो।
डुरान्ड कप एसियाको सबैभन्दा पुरानो तथा विश्वकै तेस्रो सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। यसको सुरुआत सन् १८८८ मा तत्कालीन ब्रिटिस अधिकारी सर मोर्टिमर डुरान्डले शिमलामा गरेका थिए। प्रारम्भमा ब्रिटिस सैनिकहरूको मनोरञ्जनका लागि आयोजना गरिएको यो प्रतियोगिता पछि सर्वसाधारणका क्लबका लागि पनि खुला गरियो र भारतको प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित भयो।
हाल डुरान्ड कपमा इन्डियन सुपर लिग (आइएसएल) का शीर्ष क्लबहरूका साथै भारतीय सशस्त्र बलका टोलीको पनि सहभागिता रहन्छ। प्रतियोगिता समूह चरणबाट सुरु हुन्छ, जहाँ टोलीहरू विभिन्न समूहमा विभाजन गरिन्छन्। प्रत्येक समूहका उत्कृष्ट टोली नकआउट चरणमा प्रवेश गर्छन् र अन्ततः फाइनलमार्फत विजेताको टुंगो लाग्छ।





-1785212450734.webp&w=3840&q=75)






