नयाँ भूमिकामा देखिँदै रोनाल्डो

काठमाडौं। फुटबल मैदानमा एकपछि अर्को कीर्तिमान बनाउँदै आएका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको अन्तिम चरणतर्फ छन्।
उत्तर अमेरिकामा भएको विश्वकप नै उनको सम्भवतः अन्तिम हो। यही बेला उनले नयाँ क्षेत्रमा पाइला चाल्ने तयारी गरेका छन्। उनै रोनाल्डोले अब हलिउड क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउने भएका छन्।
बेलायती फुटबल परिवेशमा आधारित नयाँ टेलिभिजन ड्रामा सिरिज ‘डे वन्स’ मा रोनाल्डो अभिनय गर्नुका साथै कार्यकारी निर्माताको भूमिकामा पनि रहनेछन्। फुटबल बाहिर व्यापार र मनोरञ्जन क्षेत्रमा यो उनको ठूलो कदमका रूपमा हेरिएको छ।
यस सिरिजमा रोनाल्डोसँगै फ्रान्स तथा आर्सनलका महान् पूर्वफुटबलर थियरी अन्री पनि देखिनेछन्। तर‚ यो कथा कुनै वास्तविक खेलाडीको जीवनमा आधारित भने रहने छैन। सिरिजको कथा स्ट्यान्ली डाल्टन नाम गरेका एक प्रभावशाली काल्पनिक फुटबल एजेन्टको जीवन वरिपरि केन्द्रित हुनेछ।
मुख्य एजेन्टको भूमिकामा ‘होल्यान्ड’ र ‘बिलियन्स’ जस्ता चर्चित सिरिजका अभिनेता डेमियन लुइसले अभिनय गर्नेछन्। साथै चर्चित र्यापर डेभ र नयाँ कलाकार कार्लोटा बनाट पनि सिरिजमा देखिनेछन्।
रोनाल्डोले यस परियोजनाबारे उत्साहित हुँदै भने,‘यो मेरो जीवनको नयाँ पक्ष खोल्ने अवसर हो। हामी सधैं नयाँ काम गर्न रुचाउँछौं। आशा छ, दर्शकहरूले यो नयाँ प्रयासलाई मन पराउनुहुनेछ।’
लन्डनस्थित बार्नेट फुटबल क्लबको स्टेडियममा डेमियन लुइस र थियरीको भागको छायांकन सुरु भइसकेको छ। हल्का हास्यभन्दा पनि बेलायती फुटबलको भित्री संसारमा रहेका वास्तविक नाटक, दबाब र जटिल पक्षलाई देखाउनु सिरिजको मुख्य उद्देश्य रहेको बताइएको छ।












-1785079914931.jpeg&w=3840&q=75)
