ब्याटिङमा पहिचान गुमाएको नेपाल

दुई खेल, समान १५७ रन र लगातार दुई हार। नेदरल्यान्ड्सको युट्रेच्टमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा नेपालको प्रदर्शनलाई यी तीन तथ्यले स्पष्ट चित्रण गर्छन्।
अंक गुम्नु एउटा पक्ष हो। तर‚ अझ ठूलो चिन्ता टोलीले आफ्नो पहिचान बनाएको ब्याटिङको आत्मविश्वास नै गुमाएको देखिनु हो। केही साताअघिसम्म यही नेपाली टोली निरन्तर सफलताको यात्रामा थियो।
घरेलु मैदानमा ओमान, यूएई, स्कटल्यान्ड र अमेरिकाविरुद्ध आठमध्ये ६ खेल जित्दै नेपालले विश्वकप छनोटमा सिधै छनोट हुने सम्भावनालाई बलियो बनाएको थियो। त्यसपछि एसियाली खेलकुद छनोटमा अपराजित रहँदै उपाधि जित्यो र न्यु जर्सीविरुद्धको एकदिवसीय शृंखला पनि क्लिन स्विप गर्यो। त्यसैले युरोप पुगेको टोलीबाट निरन्तरता अपेक्षा गरिएको थियो।
तर, युट्रेच्टमा भने नेपालले आफ्नै लय बिर्सिएको छ। नामिबियाविरुद्ध १५७ रनमा अलआउट भएको नेपाल नेदरल्यान्ड्सविरुद्ध पनि त्यही स्कोरमै सीमित रह्यो। संयोगले स्कोर उस्तै रह्यो। तर‚ दुवै खेलले एउटै कमजोरी उजागर गर्यो, शीर्षक्रमले सुरुआत दिन सकेन, मध्यक्रमले इनिङ्स सम्हाल्न सकेन र अन्तिमतिर रनको गति बढाउने अवसर नै बनेन।
नेपालको समस्या ठूलो स्कोर बनाउन नसक्नु मात्र होइन, साझेदारी टिकाउन नसक्नु पनि हो। सुरुआती केही ओभरमा विकेट गुमेपछि प्रत्येक ब्याटर दबाबमा देखिएका छन्। इनिङ्सलाई नियन्त्रणमा राख्ने कुनै लामो साझेदारी बन्न सकेको छैन।
कप्तान रोहितकुमार पौडेलले पनि हारपछि टोलीको मुख्य कमजोरी स्वीकारे। ‘हाम्रा बलरहरूले प्रतिस्पर्धा गरेका छन्। तर, ब्याटिङ युनिटका रूपमा हामीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनौँ,’ उनले भने।
बलिङतर्फ हेर्दा नेपाल पूर्ण रूपमा कमजोर देखिएको छैन। दुवै खेलमा बलरहरूले विपक्षीलाई केही समय दबाबमा राखेका थिए। तर, एकदिवसीय क्रिकेटमा १५०–१६० रनको लक्ष्य जोगाइराख्न निरन्तर चमत्कार आवश्यक पर्छ। त्यो हरेक खेलमा सम्भव हुँदैन।
अब नेपालले सोमबार फेरि नामिबियासँग खेल्दै छ। यो खेलको महत्त्व अंकतालिकाभन्दा पनि टोलीको मानसिक अवस्थासँग जोडिएको छ। लगातार तीन हार भयो भने शीर्ष चारको दौड मात्र होइन, पछिल्ला महिनामा निर्माण भएको आत्मविश्वासमा पनि ठूलो असर पर्न सक्छ। जित निकाल्न सके नेपाल फेरि प्रतिस्पर्धामा फर्किन सक्छ।
तर, त्यसका लागि ब्याटिङले पुरानो स्वरूप फर्काउनैपर्छ। ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट बलियो सुरुआत, कप्तान रोहितकुमार पौडेल र ईशान पाण्डेको जिम्मेवार इनिङ्स तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीको फिनिसिङ अहिले नेपालको सबैभन्दा ठूलो आवश्यकता बनेको छ। घरेलु मैदानमा सफल भएको यही ब्याटिङ समूह अहिले विदेशी परिस्थितिमा परीक्षा दिइरहेको छ।
नामिबिया पनि उत्कृष्ट लयमा छैन। स्कटल्यान्डमा भएको अघिल्लो लिग–२ शृंखलामा उसले अपेक्षित नतिजा निकाल्न सकेन भने नेदरल्यान्ड्सविरुद्ध पनि ठूलो अन्तरले पराजित भएको थियो। त्यसैले दुवै टोली दबाबमा छन्।
अहिले लिग–२ को अंकतालिकामा नेपाल र नामिबिया समान २४ अंकमा छन्। शीर्ष चारभित्र रहँदै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टोलीलाई प्रत्येक जितको मूल्य थाहा छ। त्यसैले सोमबारको खेल दुई अंकका लागि हुने प्रतिस्पर्धा होइन, आफ्नो अभियान जोगाउने संघर्ष पनि हुनेछ।










-1785079914931.jpeg&w=3840&q=75)



-1785038983464.webp&w=3840&q=75)
