रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियल मड्रिडमा आबद्ध भएपछि अपेक्षाअनुसार खेल्ने अवसर नपाएका ब्राजिली युवा फरवार्ड एन्ड्रिकले गत जनवरीमा आफ्नो करिअरलाई प्राथमिकता दिँदै फ्रान्सेली क्लब ओलिम्पिक लियोनमा लोनमा जाने निर्णय गरेका थिए।
त्यो निर्णय उनको करिअरका लागि सही साबित भयो। यसको प्रमाण उनले मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत दिएका छन्। लियोनको जर्सीमा नियमित खेल्ने अवसर पाएका एन्ड्रिक उत्कृष्ट लयमा देखिए।
सबै प्रतियोगिता गरी २१ खेलमा उनले १६ गोलमा प्रत्यक्ष योगदान दिए र आफ्नो आत्मविश्वास पनि पुनः प्राप्त गरे। त्यसैले नयाँ सिजनमा रियल फर्किएपछि उनी पहिलो टोलीमा स्थानका लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको थियो। तर‚ अहिले त्यो बाटो पूर्ण रूपमा सहज देखिएको छैन।
ईएसपीएनका पत्रकार रोड्राको जानकारीअनुसार रियलले एन्ड्रिकलाई फेरि एकपटक लोनमा पठाउने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेको छैन। क्लब अहिले नै अन्तिम निर्णय गर्ने पक्षमा छैन।
रिपोर्टका अनुसार नयाँ मुख्य प्रशिक्षक जोसे मोरिन्होले प्रि–सिजनका क्रममा एन्ड्रिकलाई नजिकबाट मूल्यांकन गर्न चाहन्छन्। साथै अर्का युवा फरवार्ड गोन्सालो गार्सियाको प्रदर्शन पनि समीक्षा गरिनेछ। त्यसपछि मात्र नयाँ सिजनमा यी दुई खेलाडीको भविष्यबारे अन्तिम निर्णय लिइनेछ।
यदि रियलले समर यामको ट्रान्सफर विन्डोमा आक्रमण पंक्तिका लागि अर्को स्टार खेलाडी भित्र्यायो भने एन्ड्रिक वा गोन्सालो गार्सियामध्ये एक जनालाई लोनमा पठाउने सम्भावना बढी रहेको रिपोर्टमा उल्लेख गरिएको छ।
बिदा सकिएपछि एन्ड्रिक जुलाई २८ मा रियलको प्रि–सिजन प्रशिक्षणमा सहभागी हुने तालिका छ। उनका प्रतिनिधिहरूले पनि आवश्यक परे अर्को लोन सम्झौतालाई वैकल्पिक विकल्पका रूपमा विचार गरेका छन्।
यद्यपि‚ एन्ड्रिकको व्यक्तिगत धारणा भने स्पष्ट छ। ब्राजिली युवा फरवार्ड रियलमै रहेर आफ्नो स्थानका लागि प्रतिस्पर्धा गर्न चाहन्छन्। नयाँ सिजनमा नियमित रूपमा खेल्ने अवसर सुनिश्चित गर्ने लक्ष्यसहित उनी सान्टियागो बर्नाबेउ फर्किने तयारीमा छन्।







-1785038983464.webp&w=3840&q=75)

-1785079914931.jpeg&w=3840&q=75)


