भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

काठमाडौं। रियल मड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियरलाई अनुबन्ध गर्न इङ्लिस क्लब आर्सनल इच्छुक देखिएको छ।
तर, उनको सम्भावित स्थानान्तरणबारे अहिले प्रारम्भिक चरणमा मात्र छलफल भइरहेको स्रोतलाई उद्धृत गर्दै ईएसपीएनले जनाएको छ।
२६ वर्षीय भिनिसियसको रियलसँगको सम्झौता अब एक वर्ष मात्र बाँकी छ। नयाँ सम्झौताका लागि भिनिसियस र रियलबीच सहमति हुन नसकेर उनी क्लबबाट बाहिरिने अवस्था आएमा आर्सनल उनको सम्भावित गन्तव्य बन्न सक्ने स्रोतले बताएका छन्।
रियलले आरबी लाइपजिगका युवा विंगर यान डियोमान्डेप्रति देखाएको चासोलाई पनि भिनिसियसको भविष्यसँग जोडेर हेर्न सकिने बताइएको छ।
सन् २०२६ को विश्वकपमा भिनिसियसले ब्राजिलका लागि पाँच खेलमा चार गोल गरेका थिए। यद्यपि, अन्तिम १६ मा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो।
फ्लामेङ्गोबाट सन् २०१८ मा रियल पुगेका भिनिसियसले स्पेनिस क्लबबाट दुई च्याम्पियन्स लिग, तीन ला लिगा, तीन स्पेनिस सुपर कप र एक कोपा डेल रे उपाधि जितिसकेका छन्।
यसैबीच, आर्सनलले यसै साता क्लब ब्रुगबाट ग्रिक विंगर क्रिस्टोस जोलिसलाई अनुबन्ध गरेको घोषणा गरेको थियो।
अर्का विंगर लियान्द्रो ट्रोसार्ड भने यसै महिनाको सुरुआतमा टर्किस सुपर लिग क्लब बेसिक्टासमा आबद्ध भएका थिए।






-1785038983464.webp&w=3840&q=75)





