पिर्लोको सपनामा ब्रेक
-1785212450734.webp&w=3840&q=75)
काठमाडौं। इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने दौडबाट महान् पूर्वमिडफिल्डर एन्ड्रिया पिर्लो बाहिरिएका छन्।
रुससँग सम्बन्धित एक बेटिङ कम्पनीसँगको प्रायोजन सम्झौतामाथि उठेको राजनीतिक विवादपछि उनको नियुक्ति रोकिएको हो। यस घटनाले इटाली फुटबलमा थप तनाव सिर्जना गरेको छ।
नयाँ प्राविधिक निर्देशक पाओलो माल्दिनीले पद सम्हालेको मात्र १६ दिनमै राजीनामा दिएका छन्। यता, म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक पेप ग्वार्डियोला र ब्राजिलका वर्तमान प्रशिक्षक कार्लो एन्सेलोट्टीले इटालीको प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरिसकेका छन्।
लगातार तीन विश्वकपमा छनोट हुन असफल भएको इटाली अहिले गम्भीर संकटबाट गुज्रिरहेको छ। चार पटकको विश्वकप विजेता टोली चार महिनाअघि विश्वकप छनोट प्लेअफमा बोस्निया एन्ड हर्जेगोभिनासँग पराजित भएको थियो। योसँगै इटालीले सन् २०१४ को ब्राजिल विश्वकपपछि पुनरागमन गर्ने मौका गुमायो।
पिर्लोले सोमबार इन्स्टाग्राममार्फत आफू अब इटालीको प्रशिक्षक पदका लागि उम्मेदवार नरहेको पुष्टि गरेका छन्। उनले अघिल्लो रात आफूलाई उक्त दौडबाट हटाइएको जानकारी पाएको बताएका हुन्।
इटालीका केही राजनीतिज्ञहरूले पिर्लोको रुसी बेटिङ कम्पनी ‘फोनब्याट’सँगको सम्झौतामाथि आपत्ति जनाएका थिए। उनीहरूका अनुसार युक्रेनप्रति इटालीको आधिकारिक समर्थन र रुससँग सम्बन्धित कम्पनीसँगको व्यावसायिक सम्बन्धबीच हितको द्वन्द्व देखिन सक्ने भएकाले यस्तो नियुक्ति उपयुक्त नहुने तर्क गरिएको थियो।
हाल दुबई युनाइटेडका प्रशिक्षक रहेका पिर्लो इटालीको जिम्मेवारी सम्हाल्न तयार थिए। यद्यपि‚ प्रशिक्षकका रूपमा युभेन्ट्स र साम्पडोरियामा उनको कार्यकाल सफल मानिएको थिएन। तर‚ सन् २००६ मा इटालीलाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कारण उनी सम्मानित पूर्वखेलाडीका रूपमा चिनिन्छन्।
पिर्लोले भने ‘फोनब्याट’सँगको सम्झौता संयुक्त अरब इमिरेट्समा रहेको आफ्नो कामसँग सम्बन्धित व्यावसायिक र खेलकुद प्रयोजनका लागि मात्रै भएको स्पष्ट पारेका छन्।
उनले भने,‘यस सहकार्यलाई राजनीतिक अर्थ दिनु भनेको मैले कहिल्यै व्यक्त नगरेका विचारहरू मसँग जोड्नु हो। इटालीप्रतिको मेरो माया कुनै जागिरमा निर्भर छैन। यो मेरो इतिहास र पहिचानको हिस्सा हो र सधैं रहनेछ।’
माल्दिनीको रोजाइमा थिए पिर्लो
एन्सेलोट्टी र ग्वार्डियोलाले प्रस्ताव अस्वीकार गरेपछि पिर्लो तेस्रो विकल्पका रूपमा अगाडि आएका थिए। प्राविधिक निर्देशक माल्दिनीले पूर्वप्रशिक्षक रोबर्टो मान्चिनी र एन्टोनियो कोन्टेभन्दा पिर्लोलाई प्राथमिकता दिएका थिए।
युवा खेलाडीलाई अवसर दिने र आक्रामक शैलीमा टोली निर्माण गर्न इच्छुक भएकाले पिर्लो उपयुक्त हुने उनको विश्वास थियो। यसअघि इटालीका प्रशिक्षक रहेका जेन्नारो गात्तुसो बोस्नियासँगको हारपछि आपसी सहमतिमा अप्रिलमा पदबाट बाहिरिएका थिए।
फेरि चर्चामा मान्चिनी र कोन्टे
पिर्लोको नाम हटेपछि अब रोबर्टो मान्चिनी र एन्टोनियो कोन्टे पुनः मुख्य दाबेदारका रूपमा चर्चामा छन्। इटाली फुटबल महासंघका अध्यक्ष जियोभानी मालागोले अन्तिम निर्णय गर्नेछन्।
मान्चिनीले सन् २०२१ मा इटालीलाई युरोकप जिताएका थिए। तर‚ त्यसपछि टोलीलाई विश्वकपमा पुर्याउन असफल भएपछि उनले साउदी अरेबियाको राष्ट्रिय टोली सम्हालेका थिए। पछि उनले कतारको अल–सद्द क्लब पनि प्रशिक्षण दिएका थिए।
कोन्टेले सन् २०१६ को युरोकपमा इटालीलाई क्वार्टरफाइनलसम्म पुर्याएका थिए भने हालै उनी नापोलीसँग आबद्ध थिए। अर्को सम्भावित विकल्पका रूपमा इन्टर मिलान पूर्वप्रशिक्षक सिमोने इन्जाघीको नाम पनि चर्चामा छ। उनी अहिले साउदी लिगमा प्रशिक्षण गरिरहेका छन्।
जोसुकै नियुक्त भए पनि उनी पछिल्ला चार वर्षमा इटालीको चौथो मुख्य प्रशिक्षक हुनेछन्। इटालीले आगामी सेप्टेम्बर र अक्टोबरमा नेसन्स लिगअन्तर्गत बेल्जियम, टर्की र फ्रान्ससँग खेल्ने तालिका रहेको छ।













