फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

काठमाडौं। युरोपेली फुटबल महासंघ (यूईएफए) र त्यसका ५५ सदस्य राष्ट्रले विश्व फुटबल महासंघ (फिफा) को विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको सर्वसम्मत रूपमा विरोध गरेका छन्।
प्रस्ताव फिर्ता नलिएसम्म फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्। यूईएफएले बिहीबार जारी गरेको विज्ञप्तिमा विश्वकप कुनै व्यापारिक वस्तु वा लगानीको माध्यम नभई विश्व फुटबलको साझा सम्पत्ति भएको उल्लेख गर्दै निजी लगानीकर्तालाई त्यसको स्वामित्व दिन नसकिने स्पष्ट पारेको छ।
यूईएफएका ५५ सदस्य राष्ट्रले आकस्मिक बैठकमा शून्यकाविरुद्ध ५५ मतले प्रस्ताव अस्वीकार गरेका हुन्। विज्ञप्तिमा भनिएको छ,‘विश्वकप र फिफाका अन्य प्रतियोगितामा निजी लगानीकर्तालाई स्वामित्व दिने प्रस्तावलाई हामी सर्वसम्मत र स्पष्ट रूपमा अस्वीकार गर्छौं। जबसम्म यो प्रस्ताव पूर्ण रूपमा फिर्ता लिइँदैन र भविष्यमा यस्तो प्रस्ताव नल्याइने कानुनी प्रतिबद्धता दिइँदैन, तबसम्म यूईएफाका कुनै पनि राष्ट्रिय टोली फिफाका प्रतियोगितामा सहभागी हुने छैनन्।’
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप तथा अन्य प्रतियोगिताको व्यवस्थापनका लागि २० अर्ब अमेरिकी डलर बराबरको सहायक कम्पनी स्थापना गरी त्यसमा निजी लगानीकर्तालाई अल्पांश स्वामित्व दिने योजना अघि सारेका छन्।
उनले प्रस्ताव पारित भएमा फिफाका २११ सदस्य संघलाई सन् २०२७ जनवरी १ देखि उपलब्ध हुने १० अर्ब अमेरिकी डलरको प्याकेजअन्तर्गत प्रत्येक संघलाई ४ करोड अमेरिकी डलर दिने प्रस्ताव गरेका छन्। प्रस्ताव अस्वीकार भएमा यसअघि प्रस्ताव गरिएको २ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् प्रत्येक सदस्य संघले करिब १ करोड अमेरिकी डलर मात्र पाउनेछ।
यूईएफाले यस प्रस्तावलाई विश्व फुटबलको सुशासनमाथिको गम्भीर आघातको संज्ञा दिएको छ। विज्ञप्तिमा भनिएको छ,‘निजी लगानीकर्ताले स्वामित्व पाएपछि फुटबल सधैंका लागि बदलिनेछ। त्यसपछि खेलभन्दा पनि लगानीकर्ताको नाफा प्राथमिकतामा पर्नेछ।’
उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) ले पनि आफ्ना ४१ सदस्य संघसहित फिफाको प्रस्ताव अस्वीकार गरेको जनाएको छ। यद्यपि मेक्सिको फुटबल महासंघले भने अन्तिम निर्णय नगरेको र फिफाले आयोजना गर्ने छलफलपछि थप जानकारीका आधारमा निर्णय लिने बताएको छ।
एशियाली फुटबल महासंघ (एएफसी) ले पनि आफ्ना ४७ सदस्य राष्ट्रलाई पत्र पठाउँदै सबै महादेशीय महासंघको समर्थनबिना यस्तो प्रस्ताव सफल हुन नसक्ने चेतावनी दिएको छ। एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल–खलिफाले प्रस्ताव सार्वजनिक गर्नुअघि फिफाले कुनै परामर्श नगरेको भन्दै त्यसलाई पूर्ण रूपमा अस्वीकार्य बताएका छन्।
अफ्रिकी फुटबल महासंघले आगामी साता कार्यसमिति बैठकमा प्रस्तावबारे छलफल गर्ने जनाएको छ भने ओसियाना फुटबल महासंघले अर्को महिना यस विषयमा निर्णय गर्नेछ। दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
विश्व खेलाडी संगठन फिफप्रोले पनि फिफाको प्रस्तावको विरोध गर्दै यसले खेलाडीहरूको करिअर र प्रतियोगिताको आधारभूत संरचनामै दीर्घकालीन असर पार्ने चेतावनी दिएको छ।
यूईएफएको कडा अडानले सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकप तथा सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने पुरुष विश्वकपको भविष्यसमेत अनिश्चित बन्न सक्ने विश्लेषण गरिएको छ।












-1785385039139.webp&w=3840&q=75)