नेपाल साफको ‘ड्र’मा अटाएन

काठमाडौं। नेपाल दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ‘ड्र’मा छुटेको छ।
साफ च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बाङ्गलादेशमा आयोजना हुँदैछ। प्रतियोगिताको ‘ड्र’ शनिबार भुटानको थिम्पुमा भएको छ।
साफका सात सदस्य राष्ट्र भए पनि फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्धका कारण नेपाल प्रतियोगितामा सहभागी हुने वा नहुने विषय अझै टुङ्गो लागेको छैन। त्यसैले नेपाललाई ‘ड्र’मा समावेश नगरिने साफका महासचिव पुरुषोत्तम कट्टेलले जनाकारी दिए।
‘ड्र’मा ६ राष्ट्रको सहभागिता छन्। समूह ‘ए’मा आयोजक बाङ्लादेश, श्रीलंका र भुटान छन्। चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान समूह ‘बी’ मा परेका छन्। यस समूहको अर्को टोली माल्दिभ्स छ। समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। भारत, माल्दिभ्स र पाकिस्तान छन्।
‘फिफाको प्रतिबन्धका कारण नेपाललाई समूह विभाजनमा समावेश नगरिएको हो,’ उनले भने।
यद्यपि‚ प्रतियोगितामा सहभागी हुने सम्भावना भने पूर्ण रूपमा समाप्त भएको छैन। महासचिव कट्टेलका अनुसार साफ कार्यकारी समितिको बैठकले नेपालका लागि निश्चित समयसीमा तोकेको छ। यदि उक्त अवधिभित्र फिफाले प्रतिबन्ध फुकुवा गरेमा नेपालले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। अन्यथा सम्भावना समाप्त हुनेछ।
प्रतियोगिताको समूह विभाजनसँगै खेल तालिका पनि सार्वजनिक गरिनेछ। यदि नेपालमाथिको प्रतिबन्ध हटाइएमा आयोजक बाङ्गलादेश रहेको समूहमा नेपाललाई समावेश गरिने साफले जनाएको छ। आयोजक राष्ट्रले अतिरिक्त एक खेल खेल्नुपर्ने भएकाले नेपाललाई सोही समूहमा राख्ने तयारी गरिएको महासचिव कट्टेलले जानकारी दिए।
यदि प्रतियोगिता ६ राष्ट्रबीच मात्र आयोजना भए प्रत्येक समूहमा तीन–तीन टोली रहनेछन् र प्रत्येक समूहमा तीन खेल हुनेछन्।
नेपाल सहभागी भई सात टोली पुगेमा आयोजक रहेको समूहमा चार टोली रहनेछ, जसका कारण त्यस समूहमा खेल संख्या बढ्नेछ। यद्यपि‚ एक दिनको विश्राममा सामान्य हेरफेर गरेर प्रतियोगिता पूर्वनिर्धारित समयमै सम्पन्न गर्न सकिने साफको भनाइ छ।
समूह विभाजन
समूह ‘ए’ : बाङ्गलादेश, भुटान, श्रीलंका र नेपाल (प्रतिबन्ध फुकुवा भएमा)
समूह ‘बी’ : भारत, माल्दिभ्स र पाकिस्तान





-1785576703600.jpeg&w=3840&q=75)






