चेल्सीलाई कारबाही

काठमाडौं। इङ्लिस फुटबल एसोसिएसन (एफए) का एजेन्टसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा चेल्सीलाई १ करोड पाउन्ड (करिब १ करोड ३४ लाख अमेरिकी डलर) जरिवाना गरिएको छ।
साथै, क्लबलाई दुई ट्रान्सफर विन्डोका लागि प्रतिबन्ध लगाइए पनि उक्त सजाय हालका लागि निलम्बित गरिएको एफएले शुक्रबार जनाएको छ। सुरुमा स्वतन्त्र अनुशासन आयोगले चेल्सीलाई ६ अंक कटौती गर्ने निर्णय गरेको थियो, जुन सन् २०२७ जुन ३० सम्मका लागि निलम्बित थियो।
तर‚ क्लबले उक्त निर्णयविरुद्ध अपिल गरेपछि अपिल बोर्डले अंक कटौतीको सजाय हटाउँदै त्यसको सट्टा दुई ट्रान्सफर विन्डो प्रतिबन्धको निलम्बित सजाय लागू गरेको हो।
एफएका अनुसार चेल्सीले एजेन्ट मध्यस्थकर्ता (इन्टरमिडियरी) सँगको कामकाज तथा खेलाडीमा तेस्रो पक्षको लगानीसम्बन्धी एफएका नियमहरू ७४ पटक उल्लंघन गरेको स्वीकार गरेको छ।
सन् २०२२ मा रुसी अर्बपति रोमन अब्रामोभिचबाट क्लब खरिद गर्ने प्रक्रियामा रहेका नयाँ मालिकहरूले यी उल्लंघनबारे फुटबल नियामक निकायहरूलाई स्वयं जानकारी गराएका थिए।
यसअघि पनि यही प्रकरणसँग सम्बन्धित विषयमा चेल्सीले प्रिमियर लिग र युरोपेली फुटबल महासंघ (यूईएफए) सँग छुट्टाछुट्टै सहमतिमार्फत लगाइएका प्रतिबन्ध र कारबाही स्वीकार गरिसकेको थियो।












