अडिक यूईएफए

काठमाडौं। अध्यक्ष जियानी इन्फान्टिनोको कार्यकालकै सबैभन्दा ठूलो आन्तरिक विवादपछि विश्व फुटबलको सर्वोच्च निकायले परिस्थितिलाई सामान्य बनाउन प्रयास गरिरहेको छ। तर, त्यसले आलोचना रोक्न सकेको छैन।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले फिफाको विश्वकप बहिष्कार गर्ने आफ्नो निर्णय यथावत रहेको स्पष्ट पारेको छ। रबातमा बुधबार सम्पन्न फिफाको नेतृत्व बैठकमा इन्फान्टिनोप्रति सार्वजनिक रूपमा समर्थन जनाइएपछि फिफाले विश्वकपको व्यावसायिक अधिकारको केही हिस्सा बिक्री गर्ने प्रस्ताव अघि बढाउने क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको थियो।
योसँगै आफ्ना २११ सदस्य राष्ट्रसँग माफी मागेको थियो। साथै, विवाद उत्पन्न गराउने निर्णय प्रक्रिया पुनरावलोकन गरिने र त्यससम्बन्धी प्रतिवेदन आगामी फिफा परिषद् बैठकमा पेश गरिने जनाएको छ।
यद्यपि‚ यूईएफएले भने फिफा प्रतियोगितामा पुनः सहभागी हुन आफ्ना मुख्य सर्तहरू पूरा नभएको जनाएको छ। यूईएफएको भनाइमा विश्वकपजस्ता प्रमुख प्रतियोगिताको व्यावसायिक अधिकार बिक्री गर्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता हुनुपर्ने र भविष्यमा यस्ता प्रयास दोहोरिने छैन भन्ने स्पष्ट प्रतिबद्धता आउनुपर्ने थियो। यी दुवै सर्त पूरा नभएकाले विश्वकप बहिष्कार गर्ने निर्णय यथावत रहेको यूईएफएले दोहोर्याएको छ।
यूईएफएले इन्फान्टिनोको नेतृत्वप्रति आफ्नो विश्वास गुमाइसकेको उल्लेख गर्दै फिफा प्रशासनका कर्मचारीहरूले अध्यक्षलाई समर्थन गरेको भरमा आफ्नो धारणा परिवर्तन नहुने पनि स्पष्ट पारेको छ। यद्यपि‚ आगामी महिला यू–२० विश्वकप पनि बहिष्कार गर्ने वा नगर्ने विषयमा भने उसले कुनै निर्णय सार्वजनिक गरेको छैन।
दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले पनि पर्याप्त संवादबिना एकपक्षीय रूपमा महत्त्वपूर्ण निर्णय लिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ। संस्थागत सुधार, पारदर्शिता र निर्णय प्रक्रियामा सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा उसले जोड दिएको छ।
यसैबीच, जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन हुसेनले पनि इन्फान्टिनोलाई आगामी अध्यक्षीय निर्वाचनमा समर्थन नगर्ने घोषणा गरेका छन्। सन् २०२५ को अरब कपको बाँकी पुरस्कार रकम प्राप्त गरेपछि पनि उनले आफ्नो धारणा परिवर्तन नगरेका हुन्।
खेलाडीहरूको अन्तर्राष्ट्रिय संगठन फिफप्रोले विश्वकपको व्यावसायिक अधिकार बिक्रीसम्बन्धी प्रस्तावलाई बन्द कोठामा तयार पारिएको भन्दै त्यसलाई प्रशासनिक कमजोरी नभई अध्यक्षीय अधिकारको गम्भीर दुरुपयोगको संज्ञा दिएको छ। संगठनले फिफाको वर्तमान सुशासन प्रणालीमै सुधार आवश्यक रहेको पनि उल्लेख गरेको छ।
यता‚ युरोपियन लिग्सले सन् २०३० को विश्वकप ४८ बाट ६४ टोलीमा विस्तार गर्ने प्रस्तावबारे पर्याप्त समय र परामर्श नदिइएको भन्दै फिफाको आलोचना गरेको छ। १,३०० भन्दा बढी युरोपेली क्लबको प्रतिनिधित्व गर्ने उक्त संस्थाले सरोकारवालासँग छलफल नगरी निर्णय थोपर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएको छ।
मार्च २०२७ मा मोरक्कोमा हुने फिफा अध्यक्षीय निर्वाचनअघि इन्फान्टिनो चौथो कार्यकालको तयारीमा छन्। हालसम्म उनको बलियो प्रतिस्पर्धी देखिएको छैन र विशेषगरी अफ्रिका तथा एसियाका धेरै सदस्य राष्ट्रहरूको समर्थन उनीसँग कायम रहेको मानिन्छ। तर‚ पछिल्लो विवादले फिफाभित्रको निर्णय प्रक्रिया, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
अब भविष्यमा व्यावसायिक रणनीति, प्रतियोगिता विस्तार वा सुशासनसँग सम्बन्धित कुनै पनि प्रस्ताव अघि बढाउँदा फिफाले अझ बढी पारदर्शिता, व्यापक परामर्श र संस्थागत जवाफदेहिता प्रदर्शन गर्नुपर्ने दबाब सामना गर्नुपर्ने देखिएको छ।









-1786022688387.jpeg&w=3840&q=75)

-1786005627596.jpeg&w=3840&q=75)
