काठमाडौं । ललितपुरे क्लब जावलाखेल युथ क्लबको इतिहास लामो छ । जावलाखेलले करिब ९० वर्षको फुटबल इतिहास बोकेको छ ।
नेपाली फुटबलको शीर्ष डिभिजन लिग सहिद स्मारक 'ए' डिभिजन लिग जावलाखेलले खेल्दै आएको छ । जावलाखेलले २०५७ सालबाट लगातार 'ए' डिभिजन लिग खेल्दै आएको छ ।
लामो इतिहास बोकेको नेपाली क्लबमा जावलाखेल समेत पर्छ । तर, जावलाखेलले शीर्ष डिभिजनको लिग जित्न सकेको छैन ।
'ए' डिभिजन लिगमा जावलाखेलको उत्कृष्ट नतिजा शीर्ष तीनमा रहनु हो । जावलाखेलले २०६८ सालको लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।
यस पटक जावलाखेल लिगको उपाधि जित्दै नयाँ इतिहास बनाउन चाहन्छ । जसका लागि क्लब पदाधिकारी, खेलाडी र प्रशिक्षक लागिपरेका छन् ।
'शीर्षमा रहने भन्ने उदेश्य लिएर टिम बनाएका छौँ । पुराना विदेशी खेलाडी नराखेर बाहिरबाट ल्यायौं । फोडे फोफाना मात्र पुराना विदेशी खेलाडी छन् । उ जावलाखेलका पुराना खेलाडी पनि हुन् । नेपालका सबै जुनियर खेलाडीलाई मौका दिएको छु । युवा खेलाडीलाई विश्वास दिलाएको छु । मोटिभेट गरेको छु । आजसम्म सफल समेत भईरहेको छौँ,' जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री भन्छन्, 'कोशिश गर्दै छौँ । हेरौं पहिलो चरणसम्म के हुन्छ । कुन किसिमको नतिजा आउछ भन्ने अबको चार खेलले तय हुन्छ ।'
यद्दपी, जवालाखेलले मोफसलको धेरै नकआउट प्रतियोगिता जितिसकेको छ । सिन्धु गोल्डकप, तिलोत्तमा गोल्डकप, बागमती गोल्डकप लगायतका प्रतियोगिता जावलाखेलले जितेको छ ।
यस सिजनको 'ए' डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा जारी छ । लिगको नवौं चरण सकिदा जावलाखेल शीर्ष स्थानमा रहेको छ ।
जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । जसमा ५ जित, दुई हार र दुई बराबरीको नतिजा जावलाखेलले निकालेको छ ।
जारी लिगको नतिजाले क्लबका पदाधिकारी मात्र हैन प्रशिक्षक र खेलाडी समेत खुशी छन् । जावलाखेलको लक्ष्य फेरिएको छ । सुरुआतमा जावलाखेल शीर्ष पाँचमा रहन चाहन्थ्यो । अब शीर्षमै रहेर लिग सक्न चाहन्छ ।
'टिमको 'सेप' राम्रो छ । तीन महिनाबाट एकै ठाउमा ट्रेनिङ गरिरहेका थियौं । त्यसमा सबैले मेहेनत गरेका छन् । रिजल्ट राम्रै आइरहेको छ,' कप्तान सिमान्त थापा टोलीको लक्ष्यबारे भन्छन्, 'टिमको लक्ष्य शीर्ष ५-६ भित्र पर्ने थियो । अहिले शीर्ष स्थानमा छौँ र शीर्षमै रहनुपर्छ भन्नेछ ।'
पछिल्लो तीन वर्षबाट सिमान्त जावलाखेलमा आबद्द छन् । झापा घर भएका डिफेन्डरले पहिलो पटक लिगमा कप्तानी सम्हालिरहेका छन् । उनको कप्तानीमा जावलाखेलले सफल उडान भरिरहेको छ ।
'कप्तानीको रुपमा निकै राम्रो भईरहेको छ । ९ चरणसम्म शीर्ष स्थानमा छौँ । राम्रो लागिरहेको छ । राम्रो अनुभव भईरहेको छ । हल्का गार्हो भईरहेको छ । कप्तानको रुपमा खेल्दा अलिकति दबाब भने हुन्छ,' सिमान्तले भने ।
सिमान्त आफ्नो कप्तानी भन्दा पनि टिमको मेहेनतले राम्रो नतिजा निस्किएको बताउछन् ।
'सबै खेलाडी जुनियर छन् । केहि खेलाडी मात्र सिनियर छन् । सबैले एउटा टिमको रुपमा मेहेनत गरेर खेलिरहेका छन् । त्यसैले नतिजा राम्रो निस्किरहेको छ,' सिमान्तले थपे ।
जावलाखेलको यो सफल उडानमा मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेतृत्व गरिरहेका छन् । तर, यस उपलब्धिको कारण खेलाडीको मेहेनतनै रहेको मुख्य प्रशिक्षक श्रेष्ठको भनाई छ ।
'जावलाखेल लिगको शीर्षमा नआएको धेरै भईसकेको छ । यसपटक सबैले 'सरप्राइज' भनेका छन् । तर, यसको श्रेय खेलाडीलाई दिन्छु । खेलाडीले गरेको मेहेनतको फल हो यो । खेलाडीले जुन मेहेनत गरेको त्यसको फल हो यो,' प्रशिक्षक श्रेष्ठले भने ।
अहिलेको नतिजालाई कायम राख्न सके आफ्नो टोली लिग इतिहासमै सफल हुने मुख्य प्रशिक्षक श्रेष्ठ बताउछन् ।
'सबै टिमको लक्ष्य पोजिसनकै लागि हो । रेलिगेसनका लागि खेल्दैन । हामी ९ चरणसम्म सफल भएका छौँ । यसपछि पनि सफल भयौं भने हामी लिगमै सफल हुन्छौं । केटाहरुको टिम वर्कले गर्दा मलाई धेरै सजिलो भएको छ,' उनले भने ।
लिगका लागि टिम बनाउदा आफुले युवा र मेहेनती खेलाडीमा सामेल गराएको र आफु युवा खेलाडीबाट सफल भईरहेको प्रशिक्षक श्रेष्ठ बताउछन् ।
'टिमको सेपमा ध्यान दिएको छ । डिफेन्ड र अट्याकिङमा ध्यान दिएको छु । गोल नखाने रणनीति अपनाएको छु । तर, हाम्रो टिममा गोल खाएपनि कम्ब्याक हुने क्षमता छ । मछिन्द्रसँगको पहिलो खेलमा हामीले प्रमाणित गरिसकेका छौँ । फिनिसिङ सुधारेका छौँ,' मुख्य प्रशिक्षक श्रेष्ठले थपे, 'युवा खेलाडीहरु छन् । कहिलेकाही उनीहरु चुक्छन् । तर, मेहेनती खेलाडीलाई मौका दिईरहेका छौँ । स्टार भन्दा पनि रणनीति फलो गर्न सक्ने खेलाडीलाई ट्राइ गरिरहेका छौँ । त्यसमा हामी सफल भएका छौँ ।'
तर, पहिलो चरण नै नसकिएको कारण आफ्ना खेलाडी धेरै आत्मविश्वासी देखिएर खेल बिग्रनेमा उनलाई डर लागेको छ ।
'डबल राउण्ड हो लिग । पहिलो राउण्डकै ४ खेल खेल्न बाँकी छ । अहिले नै हामी शीर्षमा छौ भनेर धेरै आत्मविश्वासी देखिएमा हामी तल झर्न पनि सक्छौं । त्यसैले खेलाडीलाई आत्मविश्वासी बनाउने हो तर, धेरै आत्मविश्वासी नबनाउन सोच्दैछु,' श्रेष्ठले भने ।
जावलाखेल सम्हाल्न पाएकोमा श्रेष्ठलाई पनि गौरव लागेको छ ।
'जावलाखेल मेरो आफ्नो क्लब हो । जावलाखेलबाट मैले खेलेको छु । जावलाखेलको टोली हेर्न पाउदा मलाई गर्व लाग्छ । मलाई जुन विश्वास दियो क्लबले । त्यसको आधारमा मैले मेहेनत गरेको छु । मेहेनतको फल पाएको छु जस्तो लाग्छ,' अन्त्यमा उनले थपे ।