काठमाडौं । फुटबलमा रोमाञ्चकता त्यति बेला बढी हुन्छ, जति बेला कोही कसैले पुर्नआगमन जित रच्ने गर्छ । त्यो भनेको पछाडि रहेको स्थितिबाट खेल जित्ने ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा यस्ता खेल देखिएकै छैन् भन्दा हुन्छ, एक अपवादलाई छाडेर ।
सबैभन्दा पहिले अहिलेसम्म लिगमा देखिएको ट्रेन्डकै कुरा ।
पाँचौं चरण टुंगिन लाग्दा अहिलेसम्म जति पनि खेल भए, त्यसमा एउटा निश्चित अवस्था के देखिएको छ, भने जुन टिमले पहिले गोल गर्यो, त्यसले ढुक्क भए हुन्छ, अंक प्राप्त हुनेछ भनेर ।
यो अंक जितमा पनि हुन सक्छ, बराबरीमा पनि हुन सक्छ ।
एक खेललाई अपवाद मानेर अहिलेसम्म लिगमा भएका ३४ खेलमा जुन टिमले पहिले गोल गरेको छ, त्यसले खेल गुमाउनु परेको छैन् ।
अहिलेसम्म एकै खेलमा मात्र पुर्नआगमन सम्भव भएको छ र त्यो हो, खेल नम्बर ९, जसमा संकटा र फ्रेन्ड्स भिडेका थिए । त्यसमा फ्रेन्ड्सले प्रकाश बुढाथोकीको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।
संकटाले त्यसपछि दुई गोल फर्काएको थियो, जितका लागि । गोल गर्ने खेलाडी थए, निरज वस्नेत र फोडे फोफाना ।
यसले एउटा प्रवृत्तिलाई पनि संकेत गर्छ, जस्तो, एक गोलको अग्रता लिइसकेपछि अधिकांस टिमले रक्षात्मक रणनीति बुन्ने गरेका छन् ।
अथवा एक गोलले पछाडि परिसकेपछि यो स्थितिमा रहेको टिमले पर्याप्त आक्रमण गर्न चुक्ने गर्छ । लिग खेलिरहेका प्रत्येक टिमका खेलाडी र प्रशिक्षकले यसबारे मनन गरे, राम्रो ।