रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी
-1786188782049.jpeg&w=3840&q=75)
काठमाडौं। दक्षिण कोरियाको फुटबल संघ (केएफए) ले एक दशकभन्दा पुरानो घटनासँग जोडिएको गम्भीर आरोप सार्वजनिक भएपछि शनिबार माफी मागेको छ।
एक सञ्चारमाध्यमको रिपोर्टले अन्तर्राष्ट्रिय खेलका लागि दक्षिण कोरिया पुगेका विदेशी रेफ्रीहरूलाई संघले ‘यौन सेवा’ उपलब्ध गराएको आरोप लगाइएको थियो।
दक्षिण कोरियाली प्रसारक जेटीबीसीले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार केएफएले सन् २०११ र २०१२ मा विभिन्न खेलमा विदेशी रेफ्रीहरूलाई यस्तो सेवा उपलब्ध गराएको थियो।
तीमध्ये २०१४ को विश्वकप छनोट तथा २०१२ को लन्डन ओलम्पिकका छनोट खेलका लागि दक्षिण कोरिया पुगेका रेफ्रीहरू पनि रहेको रिपोर्टमा उल्लेख छ।
जेटीबीसीले सन् २०१६ मा दक्षिण कोरियाको खेल मन्त्रालयले गरेको अनुसन्धानलाई आधार बनाउँदै मार्च २०११ देखि मार्च २०१२ सम्म केएफएले विदेशी रेफ्रीका लागि सात पटक यौन सेवाको व्यवस्था गरेको जनाएको छ। अनुसन्धानअनुसार उनीहरूलाई मसाज सेन्टरमा समेत लगिएको थियो र तिर्नुपर्ने शुल्कमा यौन सेवाको खर्चसमेत समावेश गरिएको थियो।
आरोप सार्वजनिक भएपछि केएफएले एक विज्ञप्ति जारी गर्दै उक्त आरोप स्वीकार गरेर संस्थासँग सम्बन्धित विभिन्न विषयका कारण चिन्ता उत्पन्न भएकोमा गहिरो दुःख व्यक्त गरेको छ।
संघले भनेको छ,‘संसदीय सुनुवाइ, अभूतपूर्व रूपमा भएको खानतलासी तथा एक दशकभन्दा पुराना घटनासम्बन्धी रिपोर्टबाट उत्पन्न विभिन्न विषयका कारण हामी गहिरो रूपमा क्षमाप्रार्थी छौं। संस्थाभित्रका धेरै व्यक्तिलाई समेत यी घटनाबारे जानकारी थिएन।’
यद्यपि, केएफएले यस्तो किसिमको अनुचित गतिविधि अहिले पूर्ण रूपमा बन्द भइसकेको स्पष्ट पारेको छ। संघका अनुसार,‘यस किसिमको अनुचित आचरण वा त्यस्ता प्रयोजनका लागि संस्थाको कार्ड प्रयोग गर्ने काम अहिले बिल्कुलै भइरहेको छैन।’
यस विषयमा थप प्रतिक्रिया र विवरण माग्दै पठाइएको इमेलको केएफएले तत्काल जवाफ दिएको थिएन। यस आरोपले दक्षिण कोरियाली फुटबल संघमाथिको निगरानी थप कडा बनाएको छ। संघ यसअघि पनि पूर्वराष्ट्रिय टोलीका प्रशिक्षक हङ म्युङ-बोको नियुक्तिसँग सम्बन्धित अर्को विवादमा मुछिएको थियो।
हङ म्युङ-बोको नियुक्ति प्रक्रियाबारे अनुसन्धानका क्रममा बिहीबार सियोल प्रहरीले केएफएको कार्यालयमा छापा मारेको थियो। प्रहरीले उक्त कारबाही नियुक्तिसम्बन्धी अनुसन्धानकै हिस्सा भएको जनाएको छ।
हङले यसअघि सन् २०१३ देखि २०१४ सम्म दक्षिण कोरियाको राष्ट्रिय टोली सम्हालेका थिए। त्यसपछि उनी सन् २०२४ मा पुनः राष्ट्रिय टोलीको प्रशिक्षक बने। तर‚ उनको नियुक्तिलाई लिएर विवाद उत्पन्न भएको थियो। केएफएले विदेशी प्रशिक्षकका उम्मेदवारहरूबारे महिनौंसम्म खोजी गरेपछि छोटो भेटवार्तापछि नै हङलाई नियुक्त गरेको भन्दै प्रश्न उठाइएको थियो।
दक्षिण कोरियाको पछिल्लो विश्वकप अभियान निराशाजनक रूपमा समूह चरणमै समाप्त भएपछि यो विवाद पुनः चर्चामा आएको हो।












