ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

काठमाडौं। पाँच पटकको विश्वकप विजेता ब्राजिलले इतिहासमै पहिलोपटक भारतको भूमिमा फुटबल खेल्दैछ। आगामी अक्टोबरमा ब्राजिलले आयोजक भारतसँग एक प्रदर्शनी खेल खेल्ने कार्यक्रम तय भएपछि भारतीय फुटबलमा उत्साह थपिएको छ।
तर, यही समयमा पहिलोपटक आयोजना हुन लागेको फिफा आसियान कप पनि हुने भएकाले भारतीय फुटबल महासंघलाई चुनौती थपिएको छ। प्रतियोगिता २४ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म सञ्चालन हुनेछ भने ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेल ३ अक्टोबरमा हुने तय भएको छ।
यदि भारत आसियान कपको सेमिफाइनल वा फाइनलसम्म पुग्यो भने ब्राजिलविरुद्धको खेलमा राष्ट्रिय टोलीका मुख्य खेलाडीहरू उपलब्ध नहुन सक्छन्। महासंघ भने ब्राजिलविरुद्धको खेलमा आफ्नो उत्कृष्ट टोली उतार्न चाहन्छ। त्यसैले आसियान कपमा दोस्रो रोजाइको टोली सहभागी गराउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आसियान कपमा भारतको समूहमा इन्डोनेसिया, मलेसिया र सिंगापुर रहेका छन्। प्रत्येक समूहबाट शीर्ष टोली मात्र अर्को चरणमा पुग्ने व्यवस्था छ। यस निर्णयको भने भारतका पूर्वकप्तान भाइचुङ भुटियाले विरोध गरेका छन्। उनले ‘खेल नाउ’सँग कुरा गर्दै आसियान कपमा पूर्ण शक्तिसहितको टोली सहभागी गराउनुपर्ने धारणा राखेका छन्।
‘कार्यसमिति बैठकमा मैले आसियान कप खेल्न जोड दिएको थिएँ। यो साफ प्रतियोगिताभन्दा धेरै उच्चस्तरीय प्रतियोगिता हो। यसमा सहभागी हुँदा आर्थिक लाभ पनि हुन्छ, राम्रो प्रदर्शन गरे आकर्षक पुरस्कार पनि पाइन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा राष्ट्रिय टोलीको दीर्घकालीन विकासका लागि यस्तो प्रतियोगिता निकै उपयोगी हुन्छ। एउटा मैत्रीपूर्ण खेलभन्दा तीन–चार वटा प्रतिस्पर्धात्मक खेल खेल्नु धेरै राम्रो हो,’ उनले भने।
उनले थपेका छन्,‘ब्राजिल भनेको ब्राजिल नै हो। उनीहरूसँग खेल्नु विशेष अनुभव हुनेछ। तर‚ यो खेलको समय उपयुक्त छैन। एउटा मात्र खेल खेलेर राष्ट्रिय टोलीको दीर्घकालीन विकासमा खासै ठूलो फाइदा हुँदैन।’












