‘ला मासिया’ जालान् थियागो ?

काठमाडौं। अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीका जेठो छोरा थियागो मेसी बार्सिलोनाको चर्चित युवा एकेडेमी ‘ला मासिया’ जाने चर्चा चुलिएको थियो।
तर, सामाजिक सञ्जालमा फैलिएको चर्चालाई मेसीले अस्वीकार गरेका छन्। लिग्स कपको खेलअघि पत्रकारहरूले मेसीलाई थियागो इन्टर मियामी छाड्न लागेका हुन् ? भनेर सोधेका थिए।
मेसीले उक्त प्रश्नको एक शब्दमै जवाफ दिएका थिए। टोलीका सहकर्मी रोड्रिगो डे पाउलसँगै रंगशाला प्रवेश गरिरहेका मेसीले शान्त रूपमा भने,‘होइन।’
१३ वर्षीय थियागो सन् २०२३ मा मेसी परिवार मियामी पुगेयता इन्टर मियामीको उमेर समूहको टोलीमा प्रशिक्षण तथा खेलमा सहभागी हुँदै आएका छन्। यसअघि उनी पेरिस सेन्ट–जर्मेन (पीएसजी) को एकेडेमी तथा बार्सिलोनासँग सम्बन्धित प्रशिक्षण सेन्टरमा ‘बार्सा एसकुला’मा पनि आबद्ध थिए।
तर‚ अहिले भने थियागोको फुटबल प्रशिक्षण इन्टर मियामीमै जारी रहने भएको छ। मेसीले यसअघि एक अन्तर्वार्तामा छोराको खेलशैलीबारे कुरा गर्दै थियागो खेललाई निकै सोचेर खेल्ने बताएका थिए।
उनका अनुसार थियागो खेललाई व्यवस्थित गर्न रुचाउँछन् र एक कुशल मिडफिल्डरका रूपमा आफूलाई विकास गरिरहेका छन्। छोरासम्बन्धी हल्लालाई नकारेका मेसी मैदानमा पनि उत्कृष्ट लयमा देखिएका छन्।
सेन्ट लुइसविरुद्ध इन्टर मियामीको ४–२ को जितमा मेसीले दुई गोल गर्नुका साथै एक असिस्ट पनि दिए। यससँगै उनले टोलीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।












