बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

काठमाडौं। स्पेनिस मिडफिल्डर रोड्रीलाई लिएर सुरुमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा देखिएको थियो।
तर‚ पछिल्लो समय समीकरण नाटकीय रूपमा बदलिएको छ। रोड्री स्वयं बार्सिलोना जाने पक्षमा देखिएपछि रियलको योजना धक्का खाएको छ भने बार्सिलोनाले उनलाई भित्र्याउने प्रयास तीव्र बनाएको छ।
बार्सिलोनाले रोड्रीका लागि सिटीसमक्ष प्रारम्भिक प्रस्तावसमेत राखिसकेको छ। तर‚ प्रस्तावित रकम सिटीलाई चित्त नबुझेपछि इङ्लिस क्लबले त्यसलाई अस्वीकार गरेको छ।
यद्यपि, दुवै क्लबबीच आगामी केही दिनमा पनि वार्ता जारी रहने र सम्झौतामा पुग्ने लक्ष्यसहित छलफल अघि बढ्ने स्रोतलाई उद्धृत गर्दै ईएसपीएनले जनाएको छ।
बार्सिलोनाको प्रारम्भिक प्रस्ताव करिब ५ करोड युरो रहेको बताइएको छ। उक्त रकममा निश्चित शुल्कसँगै प्रदर्शन तथा अन्य सर्तमा आधारित अतिरिक्त भुक्तानी अर्थात् एड–अन पनि समावेश थियो। यद्यपि, बार्सिलोनाका प्रतिनिधिले प्रस्तावको ठ्याक्कै रकम पुष्टि गरेका छैनन्।
बार्सिलोना रोड्रीलाई अनुबन्ध गर्न निकै आशावादी छ। यसको एउटा मुख्य कारण अर्को समरमा रोड्रीको सम्झौता सकिएपछि उनी ‘फ्री एजेन्ट’ बन्न सक्ने सम्भावना पनि हो। यही पक्षलाई ध्यानमा राख्दै सिटीले अन्ततः आफ्नो मागमा केही लचकता अपनाउने बार्सिलोनाको विश्वास छ।
३० वर्षीय रोड्री अहिले आफ्नो भविष्यबारे अन्तिम निर्णयको प्रतीक्षामा परिवारसँग इबिजामा बिदा मनाइरहेका छन्। यसअघि उनी रियलसँग पनि लामो समयदेखि छलफलमा थिए।
रियल अझै दौडबाट पूर्ण रूपमा बाहिरिएको छैन। तर‚ ईएसपीएनका स्रोतहरूका अनुसार रोड्रीको प्राथमिकता भने बार्सिलोनामा आफ्नो करिअर अघि बढाउनु हो।
रोड्रीले यसअघि स्पेनलाई विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका कारण उनले ‘गोल्डेन बल’ समेत जितेका थिए। पछिल्ला केही सातादेखि रियलसँग छलफल गरिरहेका रोड्रीको दौडमा बार्सिलोना भने बिहीबार बलियो रूपमा प्रवेश गरेको थियो। त्यसपछि क्याटलान क्लबले खेलाडीसँग व्यक्तिगत सर्तमा सहमति गरेको बताइएको छ।
अब बार्सिलोनाका लागि सबैभन्दा ठूलो चुनौती सिटीलाई रोड्रीलाई बेच्न राजी गराउनु हो। यसैबीच, जारी समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले आफ्नो टोलीलाई थप बलियो बनाउने प्रयास जारी राखेको छ। क्लबले एन्थोनी गोर्डन, करिम अदेयेमी र जेसी बिसिउलाई भित्र्याउने सम्झौता गरिसकेको बताइएको छ। जोआओ कान्सेलोसँगको सम्झौता पनि अन्तिम चरणमा पुगेको छ।
त्यस्तै, रोबर्ट लेवान्डोव्स्कीको विकल्पका रूपमा हुलियन अल्भारेजलाई भित्र्याउने योजनामा पनि बार्सिलोना पुनः सक्रिय हुने तयारीमा छ। यी सबै प्रयासका बीच रोड्रीलाई अनुबन्ध गर्ने अभियानलाई पनि क्लबले प्राथमिकतामा राखेको छ।












