रहेनन् मेसीका पिता

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन्। उनी केही समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।
गत जुनमा विश्वकपअन्तर्गत अल्जेरियाविरुद्ध अर्जेन्टिनाका लागि गोल गरेपछि मेसी भावुक बनेका थिए। खेलपछि आफ्नो भावुकताबारे उनले भनेका थिए,‘म किन रोएँ? यसको फुटबलसँग कुनै सम्बन्ध थिएन। पछिल्ला केही दिन मेरा लागि कठिन थिए।’
मेसीको उक्त भनाइपछि उनका पिता जर्जको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको थियो। केही सञ्चारमाध्यमले मेसीको भावुकताको सम्बन्ध पिताको स्वास्थ्यसँग रहेको दाबी गरे पनि उनको वास्तविक अवस्थाबारे फरक–फरक विवरण सार्वजनिक भएका थिए।
त्यसपछि मेसी परिवारले विज्ञप्ति जारी गर्दै जर्ज मेसी स्वास्थ्य समस्याका कारण चिकित्सकीय निगरानीमा रहेको र उनको अवस्था सुधार हुँदै गएको जानकारी दिएको थियो।
परिवारले विज्ञप्तिमा भनेको थियो,‘मेसी परिवार सबैलाई जानकारी गराउन चाहन्छ कि जर्ज मेसी हाल स्वास्थ्य समस्यासँग जुधिरहनुभएको छ। उहाँ चिकित्सकीय निगरानीमा हुनुहुन्छ र राम्रोसँग स्वास्थ्यलाभ गरिरहनुभएको छ।’
परिवारले जर्जको स्वास्थ्यजस्तो निजी विषयमा फैलिएका विभिन्न हल्ला र अड्कलबाजीप्रति असन्तुष्टि पनि जनाएको थियो। साथै, जर्ज र सम्पूर्ण मेसी परिवारको गोपनीयता, व्यक्तिगत स्थान र सम्मान कायम राखिदिन सञ्चारमाध्यम तथा समर्थकहरूसँग आग्रह गरिएको थियो।
जुलाईको अन्त्यतिर मेसीले एमएलएस अल–स्टार गेम पनि गुमाएका थिए। उनी आफ्ना बिरामी पितालाई भेट्न गएको हुन सक्ने अनुमान गरिएको थियो। केही दिनपछि भने उनी पुनः एमएलएस खेलमा मैदानमा फर्किएका थिए।
उनका पिताले मेसीको करिअरमा महत्त्वपूर्ण व्यक्तिका रूपमा चिनिन्थे। छोराको फुटबल यात्राको सुरुआती चरणदेखि नै उनले उनको करिअरमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
मेसीका पिता जर्जको निधनको खबरले विश्व फुटबल जगतमा शोकको माहोल सिर्जना गरेको छ।





-1786188782049.jpeg&w=3840&q=75)



-1786196245905.jpeg&w=3840&q=75)


