काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न ए डिभिजन लिगको टिकट मुल्य तोकेको छ ।
आसन्न ए डिभिजन लिगको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले साधारणतर्फ सय र भिआइपीतर्फ ५ सय टिकट मुल्य तोकिएको जानकारी दिएको छ ।
यस सिजनको ए डिभिजन लिग मंसिर ३ गते सुरु हुदैछ ।
यसअघि लिगको टिकट मुल्य धेरै राखिएको भन्दै एन्फाको आलोचना भएको थियो । एन्फाले यस पटक टिकटको मुल्यमा कटौती गरेको छ ।
यस्तै, यस सिजनबाट एन्फाले हप्ताको तीन दिनमात्र लिगको खेल सञ्चालन गर्ने बताईसकेको छ । शुक्रबार, शनिबार र आईतबार तीन दिन मात्र एन्फाले लिगका खेल सञ्चालन गर्नेछ ।
एन्फाले शुक्रबार र शनिबार साढे ४ बजेपछि लिगका खेल सुरु गर्ने र फ्लड लाइटमा खेलहरु सञ्चालन गरिने जानकारी दिएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले पोखरामा समेत लिगका केही खेल लैजाने तयारी भैरहेको जानकारी दिए । उनले मनाङ क्लब मात्र पोखरा जाने अवस्था नभएमा केही चरणका खेल पोखरामा गर्ने विकल्प सहित छलफल अघि बढिरहेको बताए । यसमा केही क्लबहरु तयार रहेको तुलाधरले दाबी गरे ।
मनाङ मस्र्याङ्दी क्लबले ए डिभिजनका कम्तिमा ६ खेल पोखरा लैजान चाहेको छ । पोखरा रंगशाला आफ्नो घरेलु मैदान भएकाले लिगका खेलहरु पोखरामा खेल्न पाउनुपर्ने मनाङको तर्फ छ ।
लिग निर्देशक सञ्जिव मिश्रले नवौं चरणको खेलपछि एक महिना लिग रोकिने बताए । उनले सो समयमा मोफसलका गोल्डकपमा लिग खेल्ने टिमलाई समावेश गराईने बताए । एन्फाले यस सिजनबाट लिगलाई कम्तिमा ५ देखि ६ महिना लैजान खोजेको छ ।