काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसी कोचिङ कन्भेन्सन अन्तर्गत बी श्रेणीको मान्यता प्रदान गरेको छ ।
एएफसीले एन्फालाई सी र बी लाइसेन्सको कोर्स निर्माणदेखि प्रशिक्षण तथा लाइसेन्स प्रदान गर्नका लागि मान्यता दिएको हो ।
एन्फाले एएफसी कोचिङ कन्भेन्सनमा बी श्रेणीको सदस्यताको हैसियत प्राप्त गरेको छ ।
अब एन्फाले सी र बी लाइसेन्सको नेपाली भाषामा कोर्स डिजाइन गर्नेदेखि प्रशिक्षकलाई प्रशिक्षण दिएर लाइसेन्सको आफै मान्यता दिन सक्नेछ ।
‘नेपालले आफै बी लाइसेन्सको मान्यता दिन पाउँछ । यसको मान्यता एसिया भरी हुन्छ ।’ एन्फाका कोचिङ एजुकेशन हेड सञ्जित सिंहले खेलपाटीसँग भने, ‘एएफसीको गाइडलाइन अनुसार आफ्नै भाषामा कोर्स डिजाइन गर्न पाउनेछौं ।’
‘यो नेपाली फुटबलका लागि महत्वपुर्ण छ । र ठुलो उपलब्धि हो ।' सिंहले भने, 'यसअघि एएफसीको समय र ‘इन्सट्रक्टर’लाई कुरेर बस्न पर्दथ्यो । फिफा र एएफसीको कोर्स गराउन धेरै गाह्रो थियो । अब आफै फुटबलका दक्ष जनशक्ति उत्पादन गर्न सकिनेछ ।’ सिंहले थपे ।
सिंहका अनुसार अब लामो समय फुटबलमा लागेका र अंग्रेजी भाषामा समस्या भएका खेलाडीले नेपाली भाषामा बी लाइसेन्स सम्मको कोर्स गर्न पाउनेछन् ।
‘अब नेपाली कोचले आफ्नै भाषामा बी लाइसेन्स गर्न पाउने हो ।’ उनले भने, ‘दुई वर्षदेखि लागिरहेका थियौं । ठुलो प्रयासले सफलता प्राप्त गरेका छौं ।’
एएफसीको कोचिङ कन्भेन्सन अन्तर्गत बी लाइसेन्सको मान्यता पाउने नेपाल पाँचौ देश बनेको छ । यसअघि भारत, बंगलादेश, भुटान र माल्दिभ्सले बी श्रेणीको मान्यता प्राप्त गरिसकेका छन् ।
नेपालमा बी लाइसेन्सको ‘इन्सट्रक्टर’ एक जनामात्र छन्, ती सञ्जित सिंह हुन् । जो एन्फाको कोचिङ एजुकेशन हेड हुन् ।
‘फिफा, एएफसीका सबै कोर्स अंग्रेजी भाषामा हुन्थ्यो । हाम्रो नेपालमा एजुकेशन कमजोर भएका खेलाडीलाई त्यो कोर्स गर्न समस्या थियो ।’ कोचिङ एजुकेशनका एक अधिकारीले भने, ‘खेलाडीसँग ज्ञान हुन्थ्यो तर शिक्षा हुन्थेन । अब बी लाइसेन्सको मान्यता पाएसँगै नेपालले आफ्नै भाषामा कोर्स डिजाइन गरेर प्रशिक्षक उत्पादन गर्न सक्छ । बाहिरकाे भाषामा समस्या भएका खेलाडी यसबाट धेरै लाभ लिन पाउनेछन् ।’
विश्व फुटबलको विकासमा कोचिङ एजुकेशनलाई निकै महत्वका साथ लिइन्छ । तर नेपालमा पछिल्लो समयमात्र यसबारे बहश र गृहकार्य हुन थालेको छ ।
अब नेपालले एसियाभर मान्यता पाउने गरि आफ्नै भाषामा प्रशिक्षक तयार गर्ने अनुमती एएफसीबाट प्राप्त गरेको छ ।