काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्यको राजीनामा पर्खिएर बसेको बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित कार्यक्रममा मन्त्री गहतराजले फरक नियुक्ति प्रक्रियाबाट आएका बोर्ड सदस्यले राजीनामा दिदा उपयुक्त हुने धारणा राखे ।
‘जुन राजनीतिक कोर्सबाट बोर्ड सदस्यहरु आउनुभएको छ । त्यो अहिले मिल्दैन ।’ गहतराजले भने, ‘राजनीतिक अवस्था समेत फरक छ । उहाँहरुले राजीनामा दिनुहुन्छ होला जस्तो लागेको छ ।’
मन्त्री गहतराजले फरक राजनीतिक कोर्सका कारण राखेप सदस्य सचिवलाई पदमुक्त गरिएको बताए ।
‘नयाँ सरकार आउने बित्तिकै राजीनामा आएको भए हुन्थ्यो । सदस्य सचिवले नैतिक बल प्रकट गर्नुभएन । त्यसैले उहाँलाई हटाउनुको विकल्प थिएन ।’ उनले भने ।
मन्त्री गहतराजले चाँडै नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु हुने बताए । तत्काल वरिष्ठ कर्मचारी र मन्त्रालयकै सह–सचिवले कार्यवहाक जिम्मेवारी पुरा गरेपनि चाँडै नयाँ नियुक्ति प्रक्रिया सुरु हुने उल्लेख गरे ।
खेलकुद मन्त्रालय अहिले सचिव विहिन छ । मन्त्री गहतराजले अब बस्ने मन्त्री परिषद् बैठकबाट खेलकुद मन्त्रालयमा नयाँ सचिव आउने बताए ।
मन्त्रालयमा नयाँ सचिव आएसँगै सदस्य सचिव नियुक्तिको प्रक्रिया ऐन अनुसार अघि बढ्ने उल्लेख गरे ।
वर्तमान सरकारले राखेपको सदस्य सचिवबाट रमेश सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सदस्य सचिवको बर्खास्तीसँगै राखेपको बोर्ड सदस्यको भविष्य अन्यौलमा परेको थियो ।
खेलकुद मन्त्रीले प्रष्ट भाषामा राखेपका बोर्ड सदस्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेका छन् ।
राखेपको वर्तमान बोर्डमा एमाले निकट खेलकुदका पदाधिकारी बोर्ड सदस्य रहेका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारले सदस्य सचिवमा सिलवाल र पार्टी निकट विभिन्न व्यक्तिलाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।