काठमाडौं । सहिद स्मारक सी डिभिजन छनोट अन्तिम चरणमा छ ।
छनोटका अन्तिम तीन खेल बाँकी छ । तीनै वटा खेल फाइनल सरहका छन् । जित हात पार्ने टिम सी डिभिजनमा छनोट हुनेछ ।
सी छनोटको फाइनल खेल्दैछन्, काठमाडौंको संयुक्त नमुना, काभ्रेको साङ्गा स्पोर्टस एकेडेमी, झापाको समाजसेवी र सुर्खेतको आरसी ३२, रानीवन स्पोर्टिङ बाजुरा र नुवाकोट युनाईटेड एफसी ।
अन्तिम भिडन्तमा रहेका ६ टिम मध्य ५ टिम काठमाडौं बाहिरका छन् ।
हुन सक्छ, सी डिभिजन चढ्ने तीन कोटा उपत्यका बाहिरका क्लबले ओगट्नेछन् ।
सम्भावना त्यो पनि छ ।
तर कम्तिमा उपत्यका बाहिरका दुई क्लब सी डिभिजनमा उक्लिनेछन् । यो समाचार घरेलु फुटबलको सुखद समाचार मध्यको एक हो ।
मुलधारको नेपाली फुटबलमा मोफसलको उपस्थिती कमजोर छ । जे जति क्लब छन्, ती सबै उपत्यका भित्रकै छन् ।
देश संघीय संरचनामा भएपनि फुटबलको विकेन्द्रिकरण भाषणमै सिमित जस्तो देखिन्थ्यो ।
तर सी डिभिजनको अन्तिम छनोट हेर्दा मोफसल बाहिरका क्लबले मुलधारको फुटबलका धक्का दिए जस्तो भान हुन्छ ।
आईतबार दुई फाइनल खेल हुनेछ ।
पहिलो खेलमा सुर्खेतका रोहित चन्द अर्थात आरसी ३२ र समाजसेवी झापा भिड्नेछन् । विजेता टिम सी डिभिजनमा छनोट हुनेछ ।
अर्को खेलमा काठमाडौंको संयुक्त नमुना र काभ्रेको साङ्गा स्पोेर्टस एकेडेमी खेल्नेछन् । जित निकाल्ने टिम तेस्रो श्रेणीको लिगमा उक्लिनेछ ।
अन्तिम फाइनलमा सोमबार बाजुराको रानीवन स्पोर्टिङ र नुवाकोट भिड्नेछन् ।
सी छनोटमा देशभरका २५ जिल्लाबाट ७८ टिम खेल्न आएका थिए ।
अन्तिम फाइनलमा विभिन्न ६ जिल्लाका ६ टिम परेका छन् । जसमा चार वटा फरक प्रदेशबाट टिमको प्रतिनिधित्व देखिन्छ ।
डिभिजन फुटबलमा उपत्यकाका क्लबको वर्चस्व देखिदै आएपनि यस पटक सी छनोटमा मोफसलका टिमको प्रभाव देखिन्छ । फरक प्रदेश र फरक–फरक जिल्लाबाट टिमले अन्तिम फाइनल खेल्दै गर्दा लिग निर्देशक सञ्जिव मिश्र पनि दंग छन् ।
मिश्र सी छनोटले चाँडैनै शीर्ष डिभिजनको फुटबलमा काठमाडौं बाहिरको टिम देखिने संकेत गरेको बताउँछन् ।
‘सी छनोटको पहुच देशब्यापी हुनुपर्छ भन्ने हिसाबले सहिद स्मारक सी छनोट गरेको थियौं, त्यसले उत्साहजनक सहभागीता देखियो । जे सोचिएको थियो, त्यही किसिमले फाइनलमा फरक प्रदेश र जिल्लाबाट टिमहरु उभिएका छन् ।’ उनले भने, ‘यस्तो भएको खण्डमा चाँडै शीर्ष डिभिजनको लिगमा काठमाडौं बाहिरको टिम देखिन्छ ।’