काठमाडौं । साफ च्याम्पियनिसप २०२१ सुरु हुन अगाडि शुक्रबार माले फुटबलमय थियो । हुन त पहिलो खेल बंगलादेश र श्रीलंकाबीच थियो, तर दोस्रो खेललाई उद्घाटन खेल जत्तिकै भब्य अवसर बनाउने प्रयास भयो ।
माल्दिभ्सका राष्ट्रपति अब्राहम मोहम्मद स्वंय नेसनल स्टेडियम पुगेका थिए । उनी मात्र होइन्, माल्दिभ्सका ‘डाइ हार्ड’ देखिने समर्थक पनि उत्तिकै थिए, दर्शकदीर्घामा ।
सम्भवत: पाँच हजारको हाराहारीमा । पूरा खेल अवधिमा उनीहरूको चर्को स्वर जोसुकै सुन्न सक्थे । तर जति बेला खेल सकिएको ‘ह्विसल’ बज्यो, पूरा रंगशाला शान्त थियो, ‘स्टायन्ड स्टिल’ थियो । रंगशालाको एक कुनामा केही संख्यामा नेपाली समर्थक थिए, अब पालो तिनै दर्शकले खुसीयाली बनाउने अवसर थियो ।
खेल सकेपछि मालेका सडक गल्ली पनि सुनसान थिए, भलै मान्छेको हुलमुल भने थियो । सबै लखरलखर हिंडिरहेका देखिन्थे, चुपचाप । खासमा नेपालले माल्दिभ्सलाई उसकै घरमा स्तब्ध पारेको थियो ।
मनिष डाँगीको विश्वस्तरीय गोलको मदतले नेपाल १-० ले विजयी रह्यो । सुरुमा नेपालले माल्दिभ्सलाई गोल गर्ने अवसर नदिएर विपक्षी खेलाडीलाई ‘फ्रस्टेसन’ गर्ने काम गरेको थियो ।
त्यसपछि ‘काउन्टर’ आक्रमण गोल गरेको थियो । ‘बल पोसेसन’ को आधारमा नेपाल भन्दा माल्दिभ्स धेरै अगाडि रह्यो । एकअर्कालाई दिएको पासको आधारमा पनि माल्दिभ्स नै उम्दा थियो । तर पोस्टमाथि आक्रमणको आधारमा नेपाल माल्दिभ्स भन्दा अगाडि नै रह्यो । त्यसमध्ये एक गोल त निस्कियो नै, जुन निर्णायक सावित भयो ।
यो जितपछि नेपाल र बंगलादेश सुरुआती अंक तालिकाको शीर्ष स्थानमा रहे, समान तीन अंक र एक गोल गरेको उपलब्धीसँगै । कुनै पनि प्रतियोगितामा सुरुआती खेल जितेपछि टिम बलियो स्थितिमा रहने गर्छ र अहिले नेपाल तथा बंगलादेशका लागि यस्तै स्थिति बनेको छ । बंगलादेशले श्रीलंकालाई पनि समान एकै गोलले हराएको थियो ।
बंगलादेशको जित पेनाल्टी गोलमा सम्भव भएको थियो । अब दुई दिनको विश्रामपछि सोमबार बंगलादेश र नेपाल फेरि खेलमा फर्कने छन् । बंगलादेशले भारतको सामना गर्ने छ भने नेपालले श्रीलंकाको । पहिलो जितमा टिकेर खेल्दा दुवै टिमले केही राहत महसुस गर्नेछन् । दुवै टिम जितको ‘मोमेन्टम’ मा रमाउन चाहनेछ ।
शनिबार नेपाली टिमले केही पनि गर्ने छैन्, खालि आराम बाहेक । एउटा ‘हार्ड फाइट’ जितपछि यस्तो आरामको आवश्यकता पनि पर्छ । यो आराम खेलाडीमा रहेको शक्तिलाई पुर्नताजगी दिन नै हो । अहिले तत्काल भने नेपाली फुटबल समर्थकदेखि खेलाडी सबै माल्दिभ्समाथि प्राप्त ऐतिहासिक जितमै रमाउन चाहन्छ ।