काठमाडौं । नेपाली फुटबलका लागि एक यस्तो निर्णायक मोड आइपुगेको छ, जहाँ पुरुष राष्ट्रिय टिममका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको वास्तविक परीक्षा हुनेछ । र, यो परीक्षा ‘गर या मर’ स्थितिमा हुनेछ ।
एक वर्ष जति पनि भएको छैन्, उनले नेपाली टिम सम्हाल्न थालेको । तर यसबीच उनी नेपाली फुटबलमा पूर्णत: छाए, चाहे त्यो केही राम्रा समाचारका लागि होस ।
अथवा खराब समाचार र विवादका लागि ।
साफ च्याम्पियनसिप २०२१ सुरु हुनै लाग्दा उनले प्रशिक्षक घोषणा भएको पहिलो दिन सम्झनु पर्ने हुन्छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा उनी भन्थे, ‘म यहाँ जित्न आएको हुं । मेरो उद्देश्य साफ च्याम्पियनसिप जित्नु हो र नेपाल यसका लागि सक्षम पनि छ ।’
अझ उनी भन्थे, ‘नेपालले मेरो नेतृत्वमा साफ च्याम्पियसिप जित्न सक्दैन् भने म प्रशिक्षक कायम रहनुको कुनै अर्थ छैन् ।’
सम्भवत: अल्मुताइरीका लागि यसपल्टको साफ च्याम्पिनसिप अन्तिम प्रतियोगिता हुनेछ, नेपालको प्रशिक्षकका रूपमा । उनी दोहराएर नेपाल फर्कने छैनन् । यो मोडमा उनीसामु खालि दुई विकल्प मात्र हुनेछ ।
पहिलो विकल्प नेपाली फुटबल इतिहासकै सबैभन्दा सफल प्रशिक्षक हुने । त्यसका लागि नेपालले साफ च्याम्पियनसिप जित्नु पर्नेछ ।
होइन् भने उनी नेपाली फुटबलकै इतिहासमा सबैभन्दा खराव प्रशिक्षक सावित हुनेछन् र उनको चित्रण हुनेछ, काम भन्दा बढी बोल्ने, विवाद निम्त्याउने र अनावश्यक हल्ला फैलाउने ।
उनले नेपाली टिमको प्रशिक्षक पद छाडेको घोषणा धेरै पल्ट गरिसकेका छन् । सामाजिक संजालमै सही, उनको यस्तो घोषणा आइसकेको छ । तर पनि उनी टिममै छन् ।
उनकै कारणमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा चिरा परेको छ, सबै यस्तै भन्छन् । तर जति बेला नेपालले साफ च्याम्पियनसिप जित्ने छ, त्यति बेला वास्तविक नायक भने यिनै अल्मुताइरी हुनेछन् ।
अब के हुनेछ त ? यसको उत्तर दुई सातामा प्राप्त हुनेछ ।
जति बेला सबै नेपाली दसैं मनाउने ‘मुड’ मा आइसक्ने छन्, ठीक त्यही बेला नेपाली टिम भने मालेको फुटबल रंगशालामा पसिना बगाइरहेका हुनेछ । एउटा तथ्य के निश्चित छ भने उनले कसैको मन जित्न नसकेपछि सबै खेलाडीको मन भने जितेका छन् ।
सबै खेलाडी प्रशिक्षक अुल्मताइरी भनेपछि नतमस्तक छन् ।
अझ कप्तान किरण लिम्बूले त के समेत भनेका छन् भने उनी खेलाडीका लागि पिता समान छन् । खेलाडीकै कुरा मान्ने हो भने उनी सबैको मनको कुरा बुझ्न पनि माहिर छन् ।
अनि उनी आम नेपाली फुटबल प्रशंसकबीच पनि उत्तिकै लोकप्रिय छन् । यी सबै परिस्थिति र घटनाबीच प्रशिक्षक अल्मुताइरी वास्तवमै ठूलो न ठूलो परीक्षाबाट गुज्रने छन् ।