काठमाडौं । सन् २००९ को साफ च्याम्पियनसिप आयोजना फेरि एकपल्ट बंगलादेशमा भएको थियो र फेरि एक पल्ट भारत च्याम्पियन रह्यो ।
डिसेम्बर ४ देखि १३ सम्म आयोजित प्रतियोगितामा आठ टिम नै सहभागी रहे र तिनलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
पहिलो समूहमा थिए, माल्दिभ्स, भारत, नेपाल र अफगानिस्तान ।
नेपाल फेरि एकपल्ट सेमिफाइनल पुग्न सकेन्, तर टिमको प्रदर्शन ठ्याक्कै खराब पनि रहेन् । जुमनु राईको गोलको मदतले नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १–१ को बराबरीमा रोकेको थियो ।
लगतै नेपाल भारतविरुद्धको खेलमा भने १–० ले पराजित रह्यो । आफ्नो अन्तिम खेलमा नेपालले ३–० ले हराएको थियो ।
त्यसमा अनिल गुरुङले दुई तथा विजय गुरुङले एक गोल गरे । यो जितपछि नेपालको चार अंक भएको थियो र सेमिफाइनल पुग्ने सम्भावना कायम थियो ।
तर, समूहको अन्तिम लिग खेलमा माल्दिभ्सले भारतलाई हराएपछि नेपालको बाटो बन्द भयो । माल्दिभ्स र भारत नै सेमिफाइनल पुगे । अर्को समूहबाट बंगलादेश र श्रीलंका अन्तिम चारमा पुगे ।
पाकिस्तान र भुटान लिग चरणमै रोकिए । सेमिफाइनलमा माल्दिभ्सले श्रीलंकालाई र भारतले बंगलादेशलाई हराएको थियो ।
यस्तोमा फेरि एकपल्ट उपाधि भिडन्तमा तिनै दुई टिमका रूपमा भारत र माल्दिभ्स भिडे ।
नतिजा भारतको पक्षमा रह्यो र भारत बन्यो, चौथो पल्ट साफ च्याम्पियन ।