काठमाडौं । गिनीमा भएको सैनिक विद्रोहपछि नेबी केइटा निकै नाटकीय रूपमा लिभरपुल फर्कन सफल रहे ।
अहिले उनी फरक कारणले चर्चाको पात्र बनेका छन् । इंग्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलले क्रिस्टल प्यालेसलाई तीन गोलले पराजित गर्दा तेस्रो गोल उनले गरेका थिए । यो केइटाको उत्कृष्ट गोल थियो ।
उनले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली भलि प्रहार गर्दै गोल गरे । कुरा यत्तिमै सकिएन्, यो गोलपछि उनले जसरी खुसीयाली मनाए, त्यो अहिले चर्चाको विषय भएको छ ।
लिभरपुलकै अर्का खेलाडी साडियो माने पनि यो गोलबाट प्रभावित रहे र उनले केइटाको गोल खुसीयालीलाई म्यानचेस्टर युनाइटेडका आइकोनिक खेलाडी एरिक क्यान्टोनासँग जोड्न चाहेका छन् ।
मानेले यसबारे आफ्नो इन्स्ट्राग्राममा लेखेका छन् । सन्डरल्यान्डविरुद्ध यस्तै चिपमा उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर लेजेन्ड क्यान्टोनाले अनुहार भावविहीन बनाएर गोलको खुसी मनाएका थिए । त्यसलाई धेरैले घमण्डी पारा पनि भनेका छन् । तर गोलपछि क्यान्टोनाको प्रतिक्रिया अहिलेसम्म पनि सबैले सम्झना गर्ने गर्छन् ।
अहिले केइटाले यस्तै काम गरेका छन् । मानेले इन्स्ट्राग्राममा दुवैको उस्तै उस्तै देखिने तस्बिर पनि हालेका छन् । सन् २०१८ मा आरबी लाइपजिगबाट लिभरपुल आएका केइटा पछिल्लो समय चोटबाट मुक्त हुन संघर्षरत छन् । तर यो सिजन उनले राम्रो गर्न सक्ने अपेक्षा गरिएको छ ।
–मिररको सहयोगमा ।