काठमाडौं । नेपालले भलै साफ च्याम्पियनसिपमा अहिलेसम्म च्याम्पियन हुने अवसर पाएको छैन्, दक्षिण एसियाली खेलकुद (साग) मा भने नेपालको प्रदर्शन गर्विलो छ ।
नेपाली फुटबललाई लिएर यो अर्को महत्त्वपूर्ण तथ्य रहेको छ । खासमा नेपालले साफ च्याम्पियनसिप जितेको मात्र छैन, प्रतियोगिताको इतिहासमा अहिलेसम्म फाइनल पनि पुग्न सकेको छैन ।
साफ च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको तीन पल्ट सेमिफाइनल खेल्नु हो ।
अझ नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको तेस्रो स्थानमा रहनु हो, जुन सन् १९९३ को पहिलो सार्क गोल्डमा प्राप्त भएको थियो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपाल भारत र श्रीलंकापछि तेस्रो स्थानमा रह्यो ।
सागमा भने नेपाल पुरुष फुटबलतर्फ दुई पल्टको डिफेन्डिङ च्याम्पियन हो । सन् १९९९ यता यसमा यू–२३ टिमले खेल्ने गर्छन् । यो ओलम्पिक ढाँचा भयो ।
नेपालले सन् २०१६ मा भारत तथा सन् २०१९ मा नेपालमै प्रतियोगिता हुँदा स्वर्ण जितेको थियो । यस्तै सफलता नेपालले साफ च्याम्पियनसिपमा दोहराउन सकेको छैन् र यो नै मूल प्रश्न हो ।
समग्रमा नेपालले सागमा चार स्वर्ण जितेको छ । त्यसमध्ये सन् १९८४ र १९९३ मा जित्दा पूरा राष्ट्रिय टिम थियो । राष्ट्रिय टिमले नै खेल्दा नेपालले दुई रजत र एक कांस्य पनि जितेको छ ।
यू–२३ टिमले खेलेयता थप एक कांस्य पदक जितेको छ । यस्तो नेपालले छ पल्ट सागको फाइनल खेलेको छ।
नेपाली फुटबलका लागि ‘साफ भर्सेस साग’ को इतिहास आफैमा अविश्वसनीय छ र मूल प्रश्न त्यही नै हो, अहिलेसम्म साफमा नेपाल किन विजेता रहेको छैन् ?