काठमाडौं । नेपाल र भारतबीच अब हुने दुई अन्तर्राष्ट्रिय खेल नेपाली फुटबलका लागि विशेष हुनेछ, अझ ऐतिहासिक भन्दा पनि हुन्छ ।
यो कोशेढुंगा उपलब्धीको नजिक पुगेका खेलाडी हुन्, कप्तान तथा गोलरक्षक किरण चेम्जोङ । नेपालका लागि दुवै खेलमा किरणले खेल्ने निश्चित जस्तै छ, किनभने उनी पहिलो रोजाईका खेलाडी हुन् ।
यस्तोमा हामी उनी नेपालका लागि सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी हुने अपेक्षा गर्न सक्छौं ।
किरणले अहिलेसम्म नेपालका लागि ७२ खेल खेलिसकेका छन् । अहिले तत्काल उनी नेपालका लागि सर्वाधिक खेल्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । उनी अगाडि रहेका खेलाडी हुन्, पूर्व कप्तान विराज महर्जन ।
विराजले नेपालका लागि कीर्तिमान ७३ पल्ट खेलेका छन् ।
उनले यो कीर्तिमान थ्री नेसन्सकपको फाइनलमा बनाएका थिए । नेपालले सेप्टेम्बर २ मा हुने पहिलो खेलमा भारतको सामना गर्दा किरणले ७३ औं खेल खेल्नेछन् । त्यसो भनेको उनले यही खेलका क्रममा विराजको बराबरी गर्न सक्ने छन्, समान ७३ खेल खेलेर ।
त्यसपछि पालो आउने छ, सेप्टेम्बर ५ मा हुने दोस्रो खेलको ।
त्यसमा उनले ७४ औं ‘क्याप’ जित्न सक्ने छन् र हुने सक्ने छन्, नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी । त्यसैले तय छ, नेपालले अब खेल्ने दुई खेल किरणका लागि धेरै पछाडिसम्म सम्झिरहनेछ । किरण नेपाली फुटबलमा सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् ।
उनले व्यवसायिक फुटबल खेलेर नाम त कमाए नै, दाम पनि उत्तिकै कमाएका छन् ।
अब यिनै किरण हुनेछन्, सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी । नेपाली फुटबल समर्थकका लागि यो खुसीको अवसर हुनेछ । अनि निश्चित के पनि छ भने किरण यो अवसरमा भावनात्मक पनि हुनेछन्, आफ्नो उपलब्धीलाई लिएर ।