काठमाडौं । नेपालको एक मात्रै अन्तराष्ट्रिय फुटबल मैदान दशरथ रंगशालाका छानाहरु उड्न थालेका छन् ।
७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त रंगशालाको पुननिर्माण गरिएको थियो ।
१३ औं साग खेलकुदको संघारमा दशरथ रंगशाला तयार भएको थियो । पुननिर्माणपछि तयार भएको दशरथ रंगशालाको सामान्यतर्फका प्यारापिटका छाना उड्न थालेका हुन् ।
पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग संचालन भैरहँदा दशरथ रंगशालाको सामान्य प्यारापिटतर्फका पूर्व पट्टिका दुई स्थानका छाना छैनन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले गत साता आएको हावाहुरीका कारण छाना उडेको खेलपाटीलाई बताए ।
‘अस्ति आएको हावाहुरीका कारण सामान्य प्यारापिटतर्फका छाना उडाएको हो ।’ उनले भने ।
उनले उप्किएको छानालाई पुनः केहि दिनमै जडान गरिने बताए । ‘उप्किएको छानालाई केही दिनमै जडान गर्नेछौं ।’ थापाले भने ।
१३ औं साग खेलकुदको मुख्य आकर्षण बनेको दशरथ रंगशालाको भिआईपीतर्फको छाना समेत हावाहुरीले प्रभावित बनाएको छ । भिआईपी छानाको माथि राखिएको ‘दशरथं स्टेडियम’ नामक बोर्ड समेत छावाहरीका कारण पल्टिएपछि सो स्थानबाट झिकिएको छ ।
त्यस स्थानमा राखिएको बोर्डलाई अन्यत्र सारिने राखेपले जनाएको छ ।
‘हावाहुरीका कारण बोर्ड पनि झरेको छ । हामीले त्यसलाई उपयुक्त स्थान छानेर अन्यत्र सार्नेछौं । त्यहि राख्दा दुर्घटना हुने सम्भावना देखियो ।’ प्रशासन प्रमुख थापाले भने ।
भिआईपीतर्फ जडान गरिएको ‘फाब्रिक’को छाना समयमै नआएपछि राखेपले ‘एयर कार्गाे’ गरि चीनबाट झिकाएको थियो ।
त्यसअघि भिआईपीतर्फ सिमेन्टको छानो र सामान्यतर्फ भने छाना राखिएको थिएन । १३ साग खेलकुदको दौरान भिआईपी र साधारण दुवै तर्फ नयाँ छाना जडान गरिएको थियो ।
भुकम्पपछि पुननिर्माण भएको रंगशालामा १३ औं सागका पुरुषतर्फको फुटबल, म्याराथन लगायतका खेल स्पर्धाहरु भएका थिए ।
नेपाल सुपर लिग सञ्चालन भईरहेको दशरथ रंगशालामा यसअघि थ्री नेसन्स कपसँगै महिला लिगको उद्घाटन खेल र समापन खेल आयोजना भएको थियो ।