काठमाडौं । ललित स्मृति अन्डर–१९ फुटबल च्याम्पियनसिपको सुरुका दुई संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । त्यसपछिको संस्करण पनि आर्मीलेनै जित्ने अनुमान लगाउने धेरै थिए । नहोस् पनि किन ? फेरि आर्मीनै फाइनलमा पुगेको थियो ।
तर सबैको अनुमान गलत सावित भयो । ललित स्मृतिको तेस्रो संस्करणको उपाधि ब्रिगेड ब्वाईजले जित्यो । उपाधिमा ह्याट्रिक गर्ने आर्मीको लक्ष्यमा ब्रिगेडका अनुप गुरुङ तगारो बने । उनैले फाईनलमा ब्रिगेडका लागि विजयी गोल गरे ।
उपाधि रक्षाको लक्ष्य सहित ब्रिगेडले चौथो संस्करणकको ललित स्मृति च्याम्पियनसिपमा सुखद सुुरुवात गरेको छ । पहिलो खेलमा ब्रिगेडले आईतबार सरस्वती युथ क्लबलाई ११–१ को भारी गोल अन्तरले पराजित गर्याे । ब्रिगेडको जित अहिलेसम्मै सर्वाधिक धेरै गोल स्कोरको जित बन्यो ।
ब्रिगेडको जितमा ब्रिजेस चौधरी र रोशन राना मगरले ह्यट्रिक गरे ।
यसअघि टिमलाई च्याम्पियन बनाएका प्रशिक्षक उर्जन महर्जन यस पटक टिममा छैनन् । गत बर्ष उनले ए डिभिजन लिग हेरेका थिए । जुनियर टिमलाई च्याम्पियन बनाएपछि उनले शीर्ष डिभिजनमा समेत क्लब हेर्ने मौका पाएका थिए ।
चौथो संस्करणमा उनको विकल्पमा पहिलो पटक टिम हेर्दैछन्, युवा प्रशिक्षक सुवित कार्कीले । उनी सी लाईसेन्स प्राप्त प्रशिक्षक हुन् ।
उनकै प्रशिक्षकत्वमा पहिलो खेलमै ब्रिगेडले प्रभावशाली जित दर्ता गरायो ।
‘हामी डिफेन्डिङ च्याम्पियन हौ । यसपटक पनि उपाधि जित्नकै लागि टिम तयार पारेका छौ ।’ उनले भने ।
ब्रिगेड सम्मिलित समुह सीमा नेपाल पुलिस, सरस्वती युथ र जावलाखेल युथ रहेका छन् । समुहका शीर्ष दुई टोली क्वाटरफाईनल प्रवेश गर्नेछन् ।
समुहमा एक÷एक खेल जितेका पुलिस र ब्रिगेडको तीन÷तीन अंक रहेको छ ।
‘समूह चरणका सबै खेल महत्वपुर्ण हुन्छ । त्यसैले धेरै भन्दा धेरै गोल गर्नुपर्छ ।’ सरस्वतीलाई फराकिलो गोल अन्तरले पराजित गरेपछि सुवितले भने ।
गत बर्ष उपाधि हात पर्दाका खेलाडीको बाहुल्यता ब्रिगेड ब्वाईजमा छ ।
तत्कालिन समयमा ललित स्मृतिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ब्रिगेडले ए डिभिजनमा समावेश गराएको थियो ।
ए डिभिजन लिग खेलेका ८ खेलाडी र एन्फा एकेडेमीका नयाँ खेलाडी ब्रिगेडका मुख्य हतियार हुन् ।
‘हाम्रो मुख्य लक्ष्य ललित स्मृति जित्नु हो । यिनै खेलाडीलाई ए डिभिजन लिगको लागि तयारी गर्नुुछ ।’ सुवित भन्छन् ।
टिमका कप्तान आकाश रानाभाटले टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउँदै ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरेर साफको युथ टोलीमा स्थान बनाउन प्रयास गर्ने बताउँछन् ।
साफ यु–१८ च्याम्पियनसिप सेप्टेम्बर २०–२९ सम्म नेपालमै आयोजना हुदैछ ।
‘हामी डिफेन्डिङ च्याम्पियन हौ । यसपटक पनि टिम राम्रो छ । सबैसँगै खेलिरहेको छौ । उपाधि हात पर्दै ब्यक्तिगत प्रदर्शन राम्रो बनाउनु सबैको लक्ष्य छ । साफमा स्थान बनाउन कोशिश गर्नेछौ ।’ उनले भने ।
ब्रिगेड ब्वाइजमा ए डिभिजन लिग खेलेका कप्तान तथा गोलरक्षक आकाश रानाभाट सहित पदम भट्टराई, जया गुरुङ, रन्दिप पौडेल, एन्जल महर्जन, रोशन दोङ, रोशन राना मगर र शिशिर लेखी रहेका छन् ।
भखरै एन्फा एकेडेमीबाट बाहिरिएका स्ट्राइकर बृजेश चौधरी र डिफेन्डर पृथ्वी चौधरी सम्मिलित बलियो टिम रहेको छ ।
ए डिभिजन लिगमा १३ खेलमा २ खेलमा मात्र जित निकालेको ब्रिगेडलाई जुनियर टिमबाट उपाधि रक्षा गर्नुपर्ने चुनौती छ ।
ब्रिगेडलाई उपाधि यात्रामा विभागीय टिम आर्मी र एपीएफले बलियो चुनौती दिनेछन् ।