बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

काठमाडौं। स्पेनको विश्वकप जितको उत्सव सेलाउन नपाउँदै नयाँ ला लिगा सिजनको चर्चा सुरु भएको छ।
घरेलु उपाधि जोगाउने लक्ष्यमा बार्सिलोना उत्रिँदा लगातार दुई सिजन उपाधिविहीन बनेको रियल मड्रिड भने ठूलो लगानी, स्टार खेलाडी र प्रशिक्षक जोसे मोरिन्होसहित उपाधि फिर्ता ल्याउने अभियानमा छ।
स्पेनले गत महिना न्यु जर्सीमा अर्जेन्टिनालाई पराजित गर्दै दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो। युरोपियन च्याम्पियनसिपपछि विश्वकपसमेत जितेको स्पेनको फुटबल अब राष्ट्रिय टोलीबाट क्लब फुटबलतर्फ केन्द्रित भएको छ।

ला लिगामा मुख्य प्रतिस्पर्धा भने फेरि पनि बार्सिलोना र रियलबीच हुने अपेक्षा गरिएको छ। लगातार दुईपटक घरेलु उपाधि जितेको बार्सिलोनाविरुद्ध रियल यसपटक निकै आक्रामक देखिएको छ।
रियलको आक्रामक रणनीतिको विपरीत बार्सिलोनाले निरन्तरतामा जोड दिएको छ। जर्मन प्रशिक्षक हान्सी फ्लिकलाई नै टोलीको मुख्य योजनाकारका रूपमा अघि सार्दै क्लबले उपाधि रक्षा गर्ने तयारी गरेको छ।
स्पेनको विश्वकप विजेता टोलीमा बार्सिलोनाका लामिन यमाल, डानी ओल्मो, पेड्री, पाउ कुबार्सी र फेरान टोरेसले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

अर्जेन्टिनाविरुद्धको विश्वकप फाइनलमा अतिरिक्त समयमा निर्णायक गोल गर्ने टोरेससमेत बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी हुन्।
तर‚ टोरेसको भविष्य भने अनिश्चित छ। स्थानीय सञ्चारमाध्यमका अनुसार एन्थोनी गोर्डन र करिम अदेयेमी क्लबमा आएपछि पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले २६ वर्षीय टोरेसका लागि बार्सिलोनासमक्ष प्रस्ताव राखेको छ।
यसबीच बार्सिलोना म्यानचेस्टर सिटीका स्पेनिस कप्तान रोड्रीलाई पनि अनुबन्ध गर्ने प्रयासमा छ। रोड्रीको आगमनले बार्सिलोनाको मिडफिल्ड थप बलियो बन्नेछ भने रियललाई पनि ठूलो सन्देश जानेछ।





-1786458313460.webp&w=3840&q=75)





-1786377986381.jpeg&w=3840&q=75)
