लिभरपुलमा रोनाल्ड अनुबन्धित

काठमाडौं। लिभरपुलले स्पेनिस च्याम्पियन बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउजोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ। प्रिमियर लिग क्लब लिभरपुलले सोमबार अराउजोको आगमनको घोषणा गरेको हो।
ब्रिटिस सञ्चारमाध्यमका अनुसार सम्झौतामा २७ वर्षीय अराउजोलाई करिब ४ करोड ७० लाख पाउन्ड (६ करोड ३४ लाख ८० हजार अमेरिकी डलर) मा स्थायी रूपमा अनुबन्ध गर्न सकिने विकल्प पनि राखिएको छ। अराउजोको बार्सिलोनासँगको सम्झौता सन् २०३१ सम्म रहेको छ।
लिभरपुलले पछिल्लो समय डिफेन्समा चोटका कारण खेलाडी अभाव झेलिरहेको अवस्थामा अराउजो क्लबमा भित्रिएका हुन्। क्लबको प्रि-सिजनको पहिलो खेलमै जो गोमेज मांसपेशीको चोटका कारण मैदानबाहिर छन्।
युवा सेन्टर ब्याक जियोभानी लियोनी एसीएल चोटबाट पुनरागमनको क्रममा छन् भने जेरेमी ज्याकेट पनि चोटग्रस्त छन्। यस्तो अवस्थामा कप्तान तथा ३५ वर्षीय भर्जिल भान डाइक मात्रै पूर्ण रूपमा उपलब्ध रहेको बताइएको छ।
अराउजोले लिभरपुलमा आबद्ध हुनु आफ्नो करिअरका लागि सही समयमा भएको निर्णय बताएका छन्। ‘मलाई लाग्छ, मेरो करिअरको यो चरणमा यो नै आदर्श कदम थियो। मैले लिनुपर्ने आवश्यक निर्णय पनि यही थियो। लिभरपुलको चासोबारे थाहा पाउनेबित्तिकै सबै कुरा निकै तीव्र गतिमा अघि बढ्यो,’ उनले क्लबद्वारा जारी विज्ञप्तिमा भने।
अराउजो सन् २०१८ मा उरुग्वेको बोस्टन रिभरबाट बार्सिलोना ‘बी’मा आबद्ध भएका थिए। त्यसको एक वर्षपछि उनले बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए। बार्सिलोनामा रहँदा उनले तीनपटक ला लिगा उपाधि जितेका छन्।
पछिल्ला दुई सिजन अर्थात् २०२४–२५ र २०२५–२६ मा बार्सिलोनाले लगातार ला लिगा जित्दा पनि उनी टोलीको हिस्सा थिए। उनले दुई कोपा डेल रे तथा तीन स्पेनिस सुपर कप पनि जितेका छन्। अराउजो २०२१–२२ र २०२३–२४ सिजनमा ला लिगाको ‘टिम अफ द सिजन’ मा समेत परेका थिए।
तर, गत सिजन बार्सिलोनामा उनको खेल्ने अवसर घटेको थियो। उनले ला लिगामा ११ खेलमा सुरुआती टोलीबाट खेले। पाउ कुबार्सी र जेरार्ड मार्टिन प्रशिक्षक हान्सी फ्लिकको रोजाइमा सेन्टर ब्याकका रूपमा बढी देखिएका थिए।
बार्सिलोनाका कप्तानमध्ये एक रहेका अराउजोले क्लबको अनुमति लिएर केही समय टोलीबाट दूरीसमेत बनाएका थिए। लिभरपुलले यस सिजनको सुरुवातमा अराउजोसँगै जेरेमी ज्याकेट र फरवार्ड भिक्टर मुनोजलाई पनि अनुबन्ध गरेको छ। तर क्लबले मोहम्मद सलाह, एन्डी रोबर्टसन र इब्राहिमा कोनाटेलाई गुमाएको छ। फरवार्ड ह्युगो एकिटिकेसहित केही अन्य खेलाडी पनि चोटका कारण मैदानबाहिर छन्।
गत सिजन लिभरपुलले खेलाडी अनुबन्धमा करिब ४४ करोड ६० लाख पाउन्ड खर्च गरे पनि प्रिमियर लिगमा पाँचौँ स्थानमा सिजन समाप्त गरेको थियो।
त्यसपछि क्लबले प्रशिक्षक अर्ने स्लॉटसँगको सहकार्य अन्त्य गर्दै पूर्व बोर्नमाउथ प्रशिक्षक एन्डोनी इराओलालाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ।
लिभरपुलले नयाँ प्रिमियर लिग सिजनको सुरुआत अगस्ट २३ मा न्युक्यासल युनाइटेडविरुद्ध गर्नेछ।





-1786327128206.webp&w=3840&q=75)

-1786248856569.webp&w=3840&q=75)



-1786377986381.jpeg&w=3840&q=75)


-1786375219720.jpg&w=3840&q=75)
