फोर्टिसको ऐतिहासिक सुरुआत

काठमाडौं। नेपाली खेलाडी अनन्त तामाङ र एरिक विष्टसम्मिलित फोर्टिस एएफसीले एसियाली क्लब फुटबलमा ऐतिहासिक सुरुआत गरेको छ।
पहिलोपटक एएफसीको मञ्चमा प्रतिस्पर्धा गरेको फोर्टिसले किर्गिस्तानको मुरास युनाइटेडलाई १–० गोलले पराजित गर्दै एएफसी च्यालेन्ज लिगको मुख्य चरणमा स्थान पक्का गरेको हो।
किङ्स एरिनामा भएको खेलमा फोर्टिसका लागि इब्राहिमले निर्णायक गोल गरे। मुरास युनाइटेड गत वर्ष पनि ढाका आएको थियो। त्यतिबेला उसले राष्ट्रिय रंगशालामा ढाका अबाहनीलाई २–० गोलले पराजित गरेको थियो। यसपटक भने फोर्टिसले किर्गिज क्लबलाई हरायो।
खेलमा पछि परेको मुरासले बराबरीका लागि पेनाल्टीको अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। दोस्रो हाफको ५२औं मिनेटमा इब्राहिमले फोर्टिसलाई अग्रता दिलाए। गाम्बियाका पा ओमरले दिएको पासमा इब्राहिमले पेनाल्टी बक्सभित्र बल नियन्त्रणमा लिए। त्यसपछि डिफेन्डर र गोलकिपरलाई छक्याउँदै शक्तिशाली प्रहारमार्फत बललाई जाली चुमाए।
इब्राहिमका लागि यो गोल विशेष रह्यो। एक वर्षअघि अबाहनीको जर्सीमा उनले मुरास युनाइटेडविरुद्ध हार बेहोरेका थिए। एक वर्षपछि उनकै गोलमा फोर्टिसले मुरासलाई पराजित गर्यो।
एक गोलले पछि परेको मुरासले बराबरीका लागि दबाब बढायो। ८०औं मिनेटमा उसले पेनाल्टीसमेत पायो। तर‚ मुरासका फरवार्डले गरेको प्रहार पोस्टमा लागेर फर्किएपछि फोर्टिसले राहत पायो।
खेलको अन्तिम समयसम्म मुरासले बराबरी गोलका लागि प्रयास गरिरह्यो। तर‚ फोर्टिसका श्रीलंकाली गोलकिपर सुजन परेरा र रक्षापंक्तिका खेलाडीले बलियो प्रदर्शन गरेपछि पाहुना टोलीले गोल गर्न सकेन।
फोर्टिस बंगलादेशी फुटबलमा नयाँ क्लब हो। लिगमा उसको यात्रा सुरु भएको करिब ६ वर्ष मात्र भएको छ। यस सिजन लिगमा तेस्रो स्थान हासिल गरेको फोर्टिसले एएफसी च्यालेन्ज लिगमा खेल्ने अवसर पाएको थियो।
च्याम्पियन बशुन्धरा किङ्स र उपविजेता ढाका अबाहनी फिफाको प्रतिबन्धमा परेका थिए। त्यसपछि फोर्टिस र पुलिसले एएफसी च्यालेन्ज लिगमा खेल्ने मौका पाएको हो।






-1786327128206.webp&w=3840&q=75)




-1786377986381.jpeg&w=3840&q=75)


-1786375219720.jpg&w=3840&q=75)