काठमाडौं । टाइम्स इन्टरनेसनल बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिग अन्तर्गत दोस्रो क्वालिफायरको पहिलो खेलमा जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कबर्ड हलमा बुधबार टाइम्सले नेपाल पुलिस क्लबलाई ८१-६९ स्कोरले पराजित गरेको हो । जितसंगै टाइम्सले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । र, फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
अब बिहिबार हुने दोस्रो खेल जितेमा टाइम्स फाइनल पुग्नेछ । उक्त खेल पुलिसले जितेमा टाइम्स र पुलिसबीच शुक्रबार निर्णायक खेल हुनेछ । फाइनल सम्भावना कायम पुलिसलाई भने जित्नै पर्ने दबाब छ ।
यसअघि पहिलो क्वालिफायरमा आर्मीसंग २-१ ले पराजित हुँदै टाइम्सले दोस्रो क्वालिफायर खेलेको हो । आर्मी फाइनल पुगिसकेको छ ।
पुलिस भने इलिमिनेटरमा गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लबलाई २-० ले हराएर दोस्रो क्वालिफायरमा छनोट भएको हो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख पुरस्कार पाउने छन् ।
यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।