एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

काठमाडौं। नेपाल ‘ए’ टोलीले शुक्रबार अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी–२० सिरिजअन्तर्गत आफ्नो अभियान सुरु गर्दैछ।
पहिलो खेलमै घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटी) को चुनौती सामना गर्न लागेकाले नेपालका लागि यो खेलको सुरुआतसँगै गत सिजनको हारको हिसाब मिलाउने अवसर पनि बनेको छ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा खेल दिउँसो २:१५ बजे सुरु हुनेछ। नेपालले टप एन्ड टी–२० मा दोस्रोपटक सहभागिता जनाउन लागेको हो। अघिल्लो संस्करणमा सिनियर टोलीले खेलेको थियो।
तर‚ अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा ६ खेलमध्ये चारमा पराजित र दुईमा मात्र विजयी भएको थियो। यसपटक भने क्यानले ‘ए’ टोलीलाई बलियो बनाउने रणनीति अपनाएको छ।
सिनियर टोलीका नियमित ओपनर कुशल भुर्तेलसँगै लोकेश बम, कुशल मल्ल र गुलशनकुमार झालाई टोलीमा समावेश गरिएको छ। यीमध्ये अधिकांश खेलाडीले अघिल्लो संस्करणको अनुभवसमेत बोकेका छन्।
नेपालका लागि आजको खेल अर्को कारणले पनि विशेष छ। गत संस्करणमा एनटी स्ट्राइकसँगको भेटमा नेपाल ४२ रनले पराजित भएको थियो। त्यही मैदानमा यसपटक ‘ए’ टोलीसँग त्यो नतिजा उल्ट्याउने चुनौती छ।
प्रतियोगिताको अर्को चरणमा पुग्ने लक्ष्य राखेको नेपालले सुरुआतमै घरेलु टोलीविरुद्ध बलियो प्रदर्शन गर्नुपर्नेछ। अनुभवी र युवा खेलाडीको मिश्रण रहेको टोलीका लागि आजको खेल आफ्नो क्षमता प्रमाणित गर्ने पहिलो ठूलो परीक्षा हुनेछ।











-1787239351737.webp&w=3840&q=75)
-1787237075513.webp&w=3840&q=75)
-1787235818152.jpeg&w=3840&q=75)

